आफ्नो चिर शत्रु पाकिस्तानसँग चार दिने लडाइँ अवधिभर सार्वजनिक अभिव्यक्ति नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानलाई पराजित गरेको दाबी गरे।
‘भारतको आक्रामक कारबाहीपछि पाकिस्तान बच्ने बाटो खोज्न थाल्यो। पाकिस्तानले दुनियाँभरि तनाव कम गर्न गुहार लगाइरहेको थियो र नराम्ररी हारेपछि बाध्यतामा शनिबार दिउँसो पाकिस्तानी सेनाले हाम्रो सेनासँग सम्पर्क गर्यो,’ मोदीको भनाइ थियो।
मोदीले यो लडाइँबाट भारतमा बनेको हतियारको प्रमाणिकता सिद्ध भएको दाबी पनि गरे।
‘एक्काइसौँ शताब्दीको युद्धकलामा मेड इन इन्डिया हतियारको समय आइसकेको छ,’ उनले भने।
मोदीले विजेता शैलीमा पाकिस्तानलाई नसिहत दिए पनि चार दिनको लडाइँले भारतको सैन्य प्रतिष्ठा बढाउनेभन्दा घटाउने काम गरेको कतिपय विश्लेषकको तर्क छ। पाकिस्तानी हतियार र सैन्य क्षमतालाई कम आकलन गर्दा भारतको कमजोरी उदांगो भएको तिनको भनाइ छ।
यो लडाइँ अघिसम्म यो क्षेत्रमा भारत निर्विवाद रूपमा प्रभुत्वशाली शक्ति थियो। तर, अब त्यो स्थिति नरहेको पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानी खारको दाबी छ। ‘भारतले नतिजा नसोची एक्कासि आणविक हतियार सम्पन्न छिमेकीमाथि क्षेप्यास्त्र आक्रमण गरेर गल्ती गरेको’ उनले बताइन्।
‘जवाफी कारबाहीबाट बच्ने क्षमता पनि रहेनछ। उसले प्रतिशोध लिने पाकिस्तानको इच्छा र क्षमताको अनुमान पनि गर्न सकेन,’ खारको भनाइ वासिङ्टन पोस्टले उद्धृत गरेको छ, ‘भारत परम्परागत हतियारमा हामीभन्दा श्रेष्ठ छ भन्ने हाम्रो विश्वास टुटेको छ। ज्यादा हतियार हुँदैमा प्रभुत्व कायम हुँदैन। तिनलाई कति प्रभावकारी हिसाबले प्रयोग गरिन्छ भन्ने कुरा मुख्य हो।’
वासिङ्टन पोस्टको विश्लेषणमा भारतले दुईवटा राफेल विमान गुमाएको छ। पाकिस्तानले भने पाँचवटा विमान खसाएको दाबी गर्दै आएको छ। जसको भारतले न पुष्टि गरेको छ, न अस्वीकार।
‘क्षेत्रीय प्रभुत्वशाली शक्तिका रूपमा भारतको छवि धमिलिएको छ,’ विश्लेषक युसुफ नजर अलजजिरामा लेख्छन्, ‘भारत सरकारले स्पष्ट रूपमा राफेललाई ज्यादा बढाइचढाइ गरेको देखियो।’

भारतका केही रक्षा विश्लेषकहरूले धेरै पहिलेदेखि भारतीय सेना चीन समर्थित पाकिस्तानसँग लड्न तयार नभइसकेको चेतावनी दिँदै आएका थिए। विपक्षीहरूले चीन र पाकिस्तानलाई एक ठाउँमा आउने मौका दिएको भन्दै भारतीय विदेशनीतिको आलोचना गर्ने गरेका थिए। ती चेतावनी र आशंकाहरूलाई भारत सरकारले खारेज गर्दै आएको थियो।
‘तर, यो घटनाले भारतको रणनीतिक सीमिततालाई उदांगो पारिदिएको छ,’ नजर लेख्छन्, ‘नयाँ दिल्लीले प्रतिक्रियामा रक्षा बजेट बढाउनुका साथै कस्मिरको थप सैनिकीकरण गर्न सक्छ।’
उता, कसैगरी युद्ध टरेपछि पाकिस्तानमा भने खुसीको माहोल छ। तर, उत्साहमा डुबेको पाकिस्तानले यथार्थ बुझ्न नसकिरहेको विश्लेषकहरूको भनाइ छ।
भारतले गत साता पाकिस्तानभित्र हमला गरेर केही नियम बदलेको छ। आइन्दा भारतप्रशासित कस्मिरमा आतंकवादी हमला भयो भने त्यस्तै आक्रमण गर्ने भारतले सार्वजनिक रूपमै बताइसकेको छ।
मोदीले ‘आतंकवाद विरुद्ध नयाँ रेखा कोरेको र न्यु नर्मल तयार गरेको’ बताएका छन्। युद्धविराम गरेकोमा भारतमा केही आलोचना बेहोरिसकेका उनी अर्कोचोटि तनाव बढ्दा झन् आक्रामक हुन बाध्य हुने विश्लेषकहरूको भनाइ छ।
‘पहिलेको अडान अब सिद्धान्त बनेको छ,’ पाकिस्तानका लागि भारतका पूर्वउच्चायुक्त अजय बिसारिया भन्छन्।
त्यसैले अहिलेको शान्ति अत्यन्त नाजुक छ। तर, यो कुरा पाकिस्तानीहरूले बुझेको देखिँदैन। पाकिस्तानी पत्रिकाका सम्पादकीय र नेताहरूको अभिव्यक्तिमा खुसी मात्र पोखिएको देख्न सकिन्छ।
आइतबार राति पत्रकार सम्मेलनमा एयर भाइस मार्सल औरंगजेब अहमदले पाकिस्तानले भारतविरुद्ध ‘निरोधक पुनर्स्थापित गरेकाले उसलाई न्यु नर्मल स्थापित गर्न नदिएको’ बताए।
इस्लामावादका अधिकारीहरू बुधबार भारतीय विमान खसाएको कुरालाई निकै ठूलो उपलब्धिका रूपमा चर्चा गरिरहेका छन्। यसलाई भारतको महँगो पश्चिमा विमानको तुलनामा पाकिस्तानको सस्तो चिनियाँ विमानको जितका रूपमा प्रस्तुत गरिहेका छन्।

तर, पाकिस्तानका वरिष्ठ पत्रकार नज्म सेठी यो विजयोन्माद खतरनाक भएको बताउँछन्।
‘पाकिस्तानीहरू आफ्नो सफलतामा ज्यादा रमाइरहेका छन्। र, आउँदो हमलाको सामना गर्न तयार भइरहेका छैनन्। साँच्चै भन्दा म डराएको छु’ उनले भने।
चार दिनको लडाइँ अन्तिम चरणमा कति गम्भीर स्थितिमा पुगेको थियो भन्ने कुरा पनि पाकिस्तानीहरूले बिर्सेका छन्। खासगरी शनिबार। त्यो दिन भारतले पाकिस्तानका कयौँ सैन्य शिविरहरूमा हमला गर्यो। रावलपिन्डीमा सेनाको मुख्यालयमा समेत। जसको बदलामा पाकिस्तानले ठूलो मात्रामा भारतीय सैन्य निसानाहरूमा आक्रमण गर्यो।
लडाइँको एक विन्दुमा पाकिस्तानको आणविक र रणनीतिक हतियार रेखदेख गर्ने सरकारी निकायलाई प्रधानमन्त्रीले छलफलमा बोलाएका थिए। यसले अमेरिकी अधिकारीहरू त्रस्त भए।
‘अब स्थिति गम्भीर भयो भनेर हामीले अमेरिकालाई सूचित गर्यौँ,’ अमेरिकाका लागि पाकिस्तानका पूर्वराजदूत मलिहा लोधी भन्छन्, ‘रावलपिन्डीमाथि आक्रमणलाई अमेरिकाले पनि खतरा मान्यो। पूर्ण युद्ध निकट आइसकेको थियो।’
त्यसपछि अमेरिकाको पहलमा युद्धविराम भएको थियो।
तर, पाकिस्तानी सैन्य प्रतिरोधका कारण नयाँ दिल्ली नरोकिएको भारतीय विश्लेषकहरूको तर्क छ। भारतमा फेरि आतंकवादी हमला भए भारतले उत्तिकै सशक्त सैन्य कारबाही गर्ने स्पष्ट भएको इन्स्टिच्युट फर कन्फ्लिक्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक अजय साहनी बताउँछन्।
र, भारतले अर्कोचोटि सैन्य कारबाही गर्दा युद्ध सुरु हुने जोखिम अझ बढ्ने युनिभर्सिटी एट अल्बानीका सहप्राध्यापक तथा अमेरिकी रक्षा मन्त्रालयका पूर्व दक्षिण एसिया विज्ञ क्रिस्टोफर क्लारी बताउँछन्।
‘अर्को आक्रमण हुने खतरा छ र त्यसो हुँदा हामी युद्धको अझ नजिक पुग्ने छौँ,’ उनी भन्छन्, ‘परमाणु शस्त्रसज्जित मुलुकहरूबीचको युद्ध कति खतरनाक हुन्छ, हामीलाई थाहा छैन, किनकि त्यस्ता युद्ध धेरै भएका छैनन्।’ एजेन्सी
Shares

प्रतिक्रिया