भारत र पाकिस्तानबीच शनिबार साँझ युद्धविराम सम्झौता भए पनि भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला अझै ‘रेड अलर्ट’मा छ।
बीबीसी हिन्दीका अनुसार त्यहाँ अझै मानिसहरूलाई घरबाट बाहिर ननिस्कन, घरभित्रै बस्न र झ्यालबाट टाढा रहन भनिएको छ।
गएराति अमृतसरमा ठूलो साइरन सुनिएपछि उपायुक्त साक्षी सहनीले आइतबार बिहानै एडभाइजरी जारी गरेकी हुन्।
जसमा भनिएको छ, ‘अवस्था पूर्ण रूपमा सुरक्षित भएपछि प्रशासनले हरियो संकेत दिनेछ। कृपया नआत्तिनुहोस्, शान्ति कायम राख्नुहोस् र प्रशासनका सबै निर्देशन पालना गर्नुहोस्।’
चार दिनदेखि ड्रोन हानाहान गरिरहेका भारत र पाकिस्तानबीच शनिबार (१० मे) साँझ युद्धविराम गर्ने सहमति भएको हो।
त्यसो त यसपछि पनि पाकिस्तानले सीमा क्षेत्रमा आक्रमण गरिरहेको आरोप भारतले लगाइरहेको छ। तर पाकिस्तानले यो कुरा अस्वीकार गरेको छ।
साथै पाकिस्तानले युद्धविरामलाई आफ्नो ‘ऐतिहासिक विजय’ पनि भनेको छ।
Shares

प्रतिक्रिया