भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता घोषणा भएपछि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले शनिबार मध्यराति राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
प्रधानमन्त्री शरिफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई बधाई दिँदै भने, 'यो पाकिस्तानका लागि ऐतिहासिक विजय हो।’
यस क्रममा उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे।
उनले भने, ‘यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दियो भने हामी आफ्नो रक्षाका लागि जे पनि गर्नेछौँ।"
उनले आफ्नो देशविरुद्ध लगाइएका आरोप ‘आधारहीन’ भएको दाबी गर्दै यसको अनुसन्धान गरिनुपर्ने बताए।
शाहबाज शरिफको सम्बोधनमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यद्यपि, यसको केही समयअगाडि भारतीय विदेश सचिव विक्रम मिश्रीले एक विशेष प्रेस ब्रिफिङमा ‘पाकिस्तानले यो सम्झौताको घोर उल्लंघन गरिरहेको’ आरोप लगाएका थिए।
पाकिस्तानी प्रधानमन्त्रीले अरू के के भने?
आफ्नो सम्बोधनमा शाहबाज शरिफले पाकिस्तानमा हालै भएका ड्रोन आक्रमणमा मस्जिदहरू ध्वस्त भएको र निर्दोष मानिस मारिएको दाबी पनि गरे।
उनले भने, ‘यस परिस्थितिमा पाकिस्तानका सुरक्षा बलहरूले भारतीय सशस्त्र बललाई उचित जवाफ दिए। हामी हाम्रा सिद्धान्तहरू पालना गर्न सफल भएका छौँ।’
शनिबार राति शरिफले युद्धविराम सम्झौता सबैको हितको लागि भएको बताए।
उनले भने, ‘पाकिस्तानमा लाखौँ मानिस छन्। हामी सबैको हितका लागि यो युद्धविराम सम्झौतामा पुगेका छौँ र हामी यसप्रति सकारात्मक छौँ।’
यस क्रममा शरिफले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति विशेष आभार पनि प्रकट गरे।
उनले भने, ‘म राष्ट्रपति ट्रम्पप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। युद्धविराममा वासिङ्टनले महत्त्वपूर्ण भूमिका खेलेको छ।’
शरिफले बेलायतलाई पनि ‘सल्लाह’का लागि धन्यवाद दिए।
शाहबाज शरिफले विशेष रूपमा चीनको नाम पनि उल्लेख गरे।
भने, ‘हाम्रो धेरै प्यारो, धेरै विश्वासिलो र धेरै प्यारो मित्र चीनलाई पनि धन्यवाद।’
अन्य देशहरूलाई धन्यवाद दिँदै शरिफले थपे, ‘हामीलाई पूर्ण विश्वास छ- पानी बाँडफाँड, कश्मीर र अन्य सबै विवादास्पद मुद्दा समाधान हुनेछन्।’
Shares

प्रतिक्रिया