ग्लोबल


चीनले अमेरिकालाई भन्यो : साँच्चै वार्ता चाहेको भने सबै भन्सार शुल्क रद्द गर

चीनले अमेरिकालाई भन्यो : साँच्चै वार्ता चाहेको भने सबै भन्सार शुल्क रद्द गर

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार २१:३८,

चीनले अमेरिकालाई यदि वार्ता चाहेको हो भने एकपक्षीय रुपमा लगाइएको सम्पूर्ण कर पूर्ण रुपमा रद्द गर्न भनेको छ। विश्वका दुई सबैभन्दा ठूला आर्थिक महाशक्तिबीच गतिरोध जारी रहँदा चीनले कडा सर्त अघि सारेको हो।

बिहीबार चीनले भनेको छ, ‘हाल चीन र अमेरिकाबीच आर्थिक र व्यापारिक विषयमा कुनै संवाद चलिरहेको छैन।’ यद्यपि पछिल्ला केही दिनमा वासिङ्टनले बेइजिङप्रतिको अभिव्यक्ति नरम तुल्याएको छ। 

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले हालै व्यापार युद्ध दिगो नहुने र दुवै पक्ष पछि हट्नुपर्ने बताएका छन्। 

‘एकपक्षीय भन्सार अमेरिकाले लगाएको हो,’ चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले बिहीबार भने, ‘यदि अमेरिका साँच्चै समस्या समाधान गर्न चाहन्छन् भने उसले चीनविरुद्ध लगाएको सम्पूर्ण एकपक्षीय भन्सार रद्द गर्नुपर्छ। र, समान संवादका आधारमा मतभेद समाधानको तरिका पत्ता लगाउनुपर्छ।’

यो संकटबाट मुक्तिका लागि अमेरिकाले पहिलो कदम चाल्नुपर्ने अडान चीनले लिँदै आएको छ। उसले सधैँ वार्ताको ढोका खुला रहेको पनि बताउँदै आएको छ। तर, छलफल सुरु हुनुअघि अमेरिकाले भन्सार हटाउनुपर्ने बेइजिङको सर्त छ।

ट्रम्पले चीनमाथि १४५ प्रतिशत भन्सार लगाउँदा जवाफमा चीनले अमेरिकामाथि १२५ प्रतिशत कर लगाएको छ। यो ‘नाकाबन्दी’ समान भएको मंगलबार अमेरिकी अर्थमन्त्रीले बताएका छन्।

यद्यपि, ट्रम्पले स्मार्टफोन, सेमिकन्डक्टर र विद्युतीय सामग्रीहरूमा भन्सार छुट दिएका छन्। उनले भन्सार पनि निकै कम हुने र एकदम चाँडै सम्झौता हुने दाबी पनि गरेका छन्। 

तर, चिनियाँ विदेश मन्त्रालयले बिहीबार चीन र अमेरिकाबीच सम्झौता हुन लागेको खबर ‘फेक न्युज’ भएको बताएको छ।

‘चीन र अमेरिकाबीच भन्सारलाई लिएर कुनै परामर्श वा वार्ता भएको छैन, सम्झौतानजिक पुग्नुको त कुरै छाडौँ,’ मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले भने। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad