अमेरिकी उपराष्ट्रपति जेडी भान्स नयाँ दिल्ली ओर्लिएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने छन्।
उनीहरूको कुराकानी अमेरिकाले लगाएको भन्सार महसुलका कारण सिर्जित तनावमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
भान्सले सपरिवार आगरा र जयपुरको भ्रमण गर्ने बताइएको छ। दिल्ली ओर्लिनेबित्तिकै उनले अक्षरधाम मन्दिरमा दर्शन गरेका छन्। उनकी पत्नी उषा भारतीय मूलकी हुन्।
मोदीसँग आजै उनको औपचारिक वार्ता हुनेछ। सोमबार साँझ मोदीले उनका लागि रात्रिभोज आयोजना गरेका छन्।
डोनाल्ड ट्रम्पले भारतका लागि २७ प्रतिशत भन्सार महसुल घोषणा गरेका छन्। तर, त्यसलाई ९० दिनका लागि रोकेका छन्।
भारतले यसअघि नै केही अमेरिकी सामानमा भन्सार कटौती गरिसकेको छ। उसले अझै भन्सार घटाउने आकलन गरिएको छ।
अमेरिकासँगको व्यापारमा दिल्लीले ४५ अर्ब डलरको नाफा गर्दै आएको छ। औसतमा भारतले अमेरिकी सामानमा १२ प्रतिशत भन्सार लगाउँदै आएको थियो। जबकि अमेरिकाले २ प्रतिशत लगाएको थियो।
भारतका लागि अमेरिका सबैभन्दा ठूलो वयापारिक साझेदार थियो। उनीहरूबीचको व्यापार १९० अर्ब डलर पुगेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया