चीनले इरानसँगको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्न शुक्रबार रुसी र इरानी कूटनीतिज्ञलाई स्वागत गरेको छ।
रुसी र इरानी कूटनीतिज्ञको बेइजिङ आगमनसँगै इरानसँगकोे आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु हुने बेइजिङले जनाएको छ।
सन् २०१५ मा तेहरानको आणविक विकासमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिका पछि हटेको थियो।
गत जनवरीमा दोस्रोपटक राष्ट्रपतिको पदभार सम्हालेपछि रिपब्लिकन ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौताका लागि आह्वान गरेका छन्।
तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्ध जारी रहन्छ तबसम्म त्यस्तो कुनै सम्झौता सम्भव नभएको बताएको छ।
गत महिना संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले इरानले आफ्नो अत्यधिक संवर्द्धित युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको बताएपछि यो सम्झौतालाई थप महत्त्व दिइएको थियो।
बेइजिङले शुक्रबारको वार्ताले ‘सञ्चार र समन्वयलाई मजबुत बनाउने, पुनः चाँडोभन्दा चाँडो वार्ता र संवाद सुरु गर्ने’ आशा व्यक्त गरेको छ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीमार्फत सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘तीनै जना कूटनीतिज्ञबीच इरानको आणविक मुद्दा र साझा चासोका अन्य विषयमा विचार आदानप्रदान भएको छ।
चीनका उपविदेशमन्त्री मा झाओसु, रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभ र इरानी उपविदेशमन्त्री काजेम गारिबाबादीको उपस्थितिमा भएको उक्त छलफलबारे सरकारी सञ्चारमाध्यमले विस्तृत जानकारी दिएका छैनन्।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानविरुद्ध लगाइएको प्रतिबन्धको ‘अधिकतम दबाब’को नीति पुनः अवलम्बन गरेका छन्।
यसै साता उनले तेहरानलाई पत्र पठाएर आणविक वार्ताका लागि आग्रह गरेका थिए भने इरानले प्रस्ताव अस्वीकार गरे सैन्य कारबाही हुनसक्ने चेतावनी दिएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई सम्बोधन गरी लेखेको उक्त पत्रको अहिले पुनरवलोकन भइरहेको तेहरानले जनाएको छ।
‘अन्ततः अमेरिकाले प्रतिबन्ध हटाउनुपर्छ,’ इरानी विदेशमन्त्री अब्बास अराघचीले एक इरानी राष्ट्रिय पत्रिकामा बिहीबार प्रकाशित अन्तर्वार्तामा भनेका छन्।
‘जब हामी समान स्तरमा, दबाब र धम्कीबाट मुक्त हुन्छौँ, तब हामी प्रत्यक्ष वार्तामा प्रवेश गर्नेछौँ र जनताको राष्ट्रिय हितको प्रत्याभूति हुनेछ भन्नेकुरामा विश्वस्त छौँ।’
वासिङ्टनले बिहीबार इरानी पेट्रोलियम मन्त्री मोहसेन पाकनेजादमाथि प्रतिबन्ध लगाएर आफ्नो दबाब अभियानलाई तीव्र बनाएको थियो।
अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल व्यापारलाई चीनमा ओसारपसार गर्ने जहाजका मालिक वा सञ्चालकलाई पनि कालोसूचीमा राखेको छ।
गत फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएइए) को प्रतिवेदनअनुसार इरानले आफ्नो अत्यधिक संवर्द्धित युरेनियमको भण्डार ६० प्रतिशत शुद्धतामा वृद्धि गरेको छ।
इरानका सर्वोच्च नेता खामेनीले यसै साता आफ्नो देशसँग ‘आणविक हतियार नभएको’ र त्यसको खोजी नभएको बताएका थिए।
तेहरानले यसअघि पनि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउँदै आएको छ।
Shares

प्रतिक्रिया