पत्रिकाका मालिक जेफ बेजोसलाई व्यंग्य गरिएको कार्टुन नछापिएपछि वासिङ्टन पोस्टकी पुलिट्जर पुरस्कार विजेता कार्टुनिस्टले राजीनामा दिएकी छन्।
सन् २००८ देखि पोस्टमा काम गरिरहेकी एन टेलनायसले बेजोस र अरु अर्बपतिहरू डोनाल्ड ट्रम्पको सालिकअघि घुँडा टेकेको कार्टुन बनाएकी थिइन्।
आफ्नो कार्टुन नछापिनु स्वतन्त्र प्रेसका लागि खतरनाक भएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ। तर पत्रिकाका एडिटोरियल पृष्ठका सम्पादक डेविड सिप्लीले पत्रिकाका मालिकलाई व्यंग्य गरेकोमा नभई दोहोरिन नदिन सो कार्टुन नछापिएको बताएका छन्।
टेलनायसको कार्टुनमा बेजोस, मेटाका मार्क जकरबर्ग र ओपनएआईका साम अल्टम्यान पैसा चढाउँदै ट्रम्पको सालिकअघि घुँडा टेकेको देखाइएको छ।
‘अहिलेसम्म मेरो कलम कसैप्रति लक्षित भएकै भरमा मेरो कार्टुन कहिल्यै रोकिएको थिएन,’ उनले भनेकी छन्।
एमजनका संस्थापक बेजोसले ट्रम्पको शपथ समारोहका लागि गत महिना १० लाख डलर चन्दा दिएका थिए। उनले ट्रम्पको जितको प्रशंसा पनि गरेका थिए।
यसपटक बेजोसले सम्पादकीय बोर्डलाई चुनावअघि कमला ह्यारिसलाई समर्थन गर्न पनि रोकेका थिए। जसको चर्को आलोचना भएको थियो।
बेजोसले आफ्नो निर्णयको बचाउ गरे पनि सो निर्णयपछि २ लाख ५० हजार सब्स्क्राइबर गुमाएको पत्रिकाले जनाएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया