एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) को आयोजनामा युरोपियन राष्ट्र कोसोभोमा ‘प्रिस्तिना डायलग : ह्वेर बाल्कन मिट्स साउथ एसिया’ नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
नोभेम्बर २५ का दिन सम्पन्न भएको उक्त कार्यक्रम प्रिस्तिना इन्स्टिच्युट फर पोलिटिकल स्टडिज (पीआईपीएस) कोसोभो तथा कोसोभोको विदेश मामिलासम्बन्धी मन्त्रालयको साझेदारी तथा कोसोभो फाउन्डेसन फर ओपन सोसाईटी (केएफओएस) को सहयोगमा एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए)ले गरेको हो।
कोसोभो तथा दक्षिण एसियाली राष्ट्रहरुबीच सहयोग अभिवृद्धि गर्न आह्वान गर्नुको साथै सहकार्यको लागि पनि उक्त सम्मेलन एक महत्त्वपूर्ण मञ्चको रुपमा स्थापित भएकोे छ।
सन् २००८ मा एक स्वतन्त्र बाल्कन राष्ट्रको रुपमा घोषणा भएको कोसोभो पश्चििमी बाल्कन क्षेत्रको जटिल भूराजनीतिक परिबेशमा एक सक्रिय एव प्रमुख उदीयमान राष्ट्रको रुपमा स्थापित राष्ट्र रहेको छ। द्वन्द्वपश्चात् आर्थिक पुनर्स्थापनाका साथ उदीयमान राष्ट्रको रुपमा स्थापित हुन सफल राष्ट्र कोसोभो विश्व परिवेशमा छलफल तथा चासोका साथ एक अध्ययनयोग्य राष्ट्र पनि हो।

वर्तमान विश्व परिवेशमा कोसोभोको भूमिका, कोसोभोको बाल्कन राष्ट्रहरु तथा दक्षिण एसियाली राष्ट्रहरुसँगको विकसित सम्बन्धलगायत यी क्षेत्रहरुमा रहेको सरकारी तथा गैरसरकारी क्षेत्रका नेतृत्वहरुसँगको सम्बन्ध तथा कोसोभोको विगतका दुःखहरु तथा वर्तमान बदलिँदो अवस्थामा पश्चिमी बाल्कन राष्ट्रहरुलगायत अन्य राष्ट्रहरुसँगको आर्थिक सम्बन्धहरुका विषयमा सापेक्ष अध्ययन गर्नु यस सम्मेलनको उद्देश्य रहेको थियो।
प्रिस्तिना डायलगको पहल कोसोभाको विदेश मामिलासम्बन्धी मन्त्रालय, हल पब्लिक डिप्लोमेसी विभागमा निर्देशकको रुपमा कार्यरत तथा बंगलादेशको लागि कोसोभोका पूर्वराजदूत गुनर उरेयासँगको सहकार्यमा एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए) का संस्थापक सुनील केसीले गरेका थिए।

दुवै जनाले दक्षिण एसियाली राष्ट्रहरुलगायतको क्षेत्रमा कोसोभोको संलग्नता विस्तार गर्ने उद्देश्यका साथ वार्षिक कार्यक्रमको रुपमा परिकल्पना गरेका थिए। यसको अतिरिक्त एआईडीआईएको स्थापनाको दसौँ वार्षिकोवत्सवमा यो सम्मेलन एआईडीआईएको लागि पनि एक महत्त्वपूर्ण कोशेढुंगाको रुपमा रहेको कार्यक्रम निर्देशक सजिना राईले बताइन्।
एआईडीआईएको नेतृत्वमा कोसोभो पुगेको दक्षिण एसियाली टोलीले उक्त अवसरमा बिभिन्न बिशिष्ट अधिकारीहरुसंगको छलफल बैठकहरुमा सहभागिता जनाएको थियो।

कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्ति, उपप्रधान तथा विदेश मामिलामन्त्री डोनिका गेर्भल्ला–स्वार्ज, कोसोभो संसदका सभामुख ग्लउक कोन्जुपका, क्षेत्रीय विकासमन्त्री पिक्रिम दम्कासँगको भेट तथा छलफल विशेष उल्लेखनीय रहेको उनको भनाइ छ।
सम्मेलनमा दक्षिण एसियाली प्रतिनिधिमण्डलले कोसोभोको ऐतिहासिक तथा आर्थिक महत्त्वका विभिन्न स्थानहरुको अवलोकन भ्रमण पनि गरी कोसोभोको सांस्कृतिक एवं ऐतिहासिक जानकारी पनि प्राप्त गर्ने अवसर प्राप्त गरेको छ भने २२ नोभेम्बरबाट सुरु भएको सम्मेलन २५ नोभेम्बरका दिन सम्पन्न भएको थियो।
सम्मेलनमा दक्षिण एसियाली तथा कोसोभोलगायत विभिन्न बाल्कन राष्ट्रका वक्ताहरुको सहभागिता थियो।

Shares

प्रतिक्रिया