ग्लोबल


१२ हजार उत्तर कोरियाली सैनिक रुसमा, युक्रेनबाट कुर्स्क मुक्त गर्न सघाउने

रुसमा सेना पठाउँदा उत्तर कोरियालाई के फाइदा?
१२ हजार उत्तर कोरियाली सैनिक रुसमा, युक्रेनबाट कुर्स्क मुक्त गर्न सघाउने

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १६:३२,

रुसको सुदूरपूर्वमा सयौँ उत्तर कोरियाली सैनिकहरूले तालिम लिइरहेको दृश्य हालै सार्वजनिक भएको छ। उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाउन ती सैनिक पठाएको बताइएको छ।

दक्षिण कोरियाली गुप्तचर निकायको दाबीअनुसार उत्तर कोरियाले १२ हजार सैनिकलाई रुस पठाएको छ। जसलाई रुसले युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रमा खटाउने छ।

युक्रेन आक्रमणयता रुसले विदेशी सेना तैनाथ गरेको यो पहिलोपटक हो। यसअघि उसले इरान र उत्तर कोरियाबाट हतियार सहयोग भने लिएको थियो।

यद्यपि, यति उत्तर कोरियाली सैनिकले कुर्स्कमा लडाइँको स्थिति बदल्न भने मुस्किल देखिन्छ। हाल सो क्षेत्रमा ५० हजार रुसी सैनिक छन्। तर, युक्रेनलाई त्यहाँबाट हटाउन उसलाई कम्तीमा एक लाखको फौज चाहिने आकलन गरिँदै आएको छ।

तर, त्यति सैनिकले पनि युक्रेनको समस्या बढाउन सक्ने बेलायतको रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका अध्येता ज्याक वाल्टिङको भनाइ छ।

आवश्यक मात्रामा स्वदेशी सैनिक भर्ती गर्न कठिनाइ परेको हुनाले रुसले विदेशी सैनिक भित्र्याएको हुनसक्ने कतिपयको विश्लेषण छ।

दक्षिण कोरियाका अनुसार रुस पठाइएका उत्तर कोरियाली सैनिकहरू स्टोर्म कर्प्स नामक सुविधासम्पन्न टुकडीका हुन्। ती सैनिक कुर्स्कमा युक्रेनको पकड घट्दै गरेको अवस्थामा युद्धमैदानमा पुग्ने छन्। अगस्टमा युक्रेनले कब्जा गरेको भूभागको क्षेत्रफल एक हजार वर्गकिमि थियो भने अहिले ६ सयदेखि ७ वर्गकिमि मात्र उसको नियन्त्रणमा छ।

रुस र उत्तर कोरिया सैन्य सम्बन्ध नयाँ चरणमा
उत्तर कोरियाली सेना रुसमा खटिनुले दुई देशबीचको सम्बन्धलाई नयाँ चरणमा पुर्‍याएको छ। भ्लादिमिर पुटिन र किम जोङ उनले गत जुनमा एक सन्धिमा हस्ताक्षर गरेका थिए। जसमा कुनै एक मुलुक युद्धमा प्रवेश गरे अर्कोले तत्काल सैन्य र अन्य सहयोग गर्ने वाचा गरिएको छ।

किमले धेरै पहिलेदेखि रुसमा सेना पठाउन चाहेको दक्षिण कोरियाको सरकारी इन्स्टिच्युट अफ नेसनल सेक्युरिटी स्ट्राटेजीका अध्येता गो म्योङ ह्युन बताउँछन्। 

यसले मस्कोसँग उत्तर कोरियाको सम्बन्ध मजबुत हुनुका साथै रुसको अत्याधुनिक सैन्य प्रविधिमा पहुँच पनि पुग्ने गोको भनाइ छ। बदलामा रुसले उत्तर कोरियालाई अत्यावश्यक रकम, खाद्यान्न र इन्धन दिन सक्छ। 

त्यसबाहेक आधुनिक हतियार निर्माणको प्रविधि पनि रुसले उत्तर कोरियालाई दिन सक्छ। 

यस विषयले दक्षिण कोरिया आक्रोशित बनेको छ। उसले बदलामा युक्रेनलाई सहयोग बढाउने तयारी गरिरहेको छ।

त्यस्तै दक्षिण कोरियाले चीनसँग पनि गुप्त कूटनीतिक पहल गरिरहेको हुनसक्ने आकलन गरिएको छ। किनकि चीन रुस र उत्तर कोरिया दुवैको सबैभन्दा महत्त्वपूर्ण साझेदार हो। 

उत्तर कोरिया र रुसबीचको सैन्य सम्बन्ध विस्तार हुँदा चीन खुसी नभएको अनुमान गरिएको छ।

उत्तर कोरियाले रुसमा सेना पठाउनुको प्रमुख लक्ष्य भने युद्धको अवस्थामा रुसको सहयोगको प्रतिबद्धता सुरक्षित गर्नु हो। यदि त्यसो भयो भने कोरियाली प्रायद्वीपमा हुनसक्ने युद्धको ढाँचा नै बदलिने गो बताउँछन्।

‘केही वर्षअघिसम्म रुस उत्तर कोरियामा राष्ट्रसंघीय नाकाबन्दी लगाउन कम्तीमा मुखले भए पनि प्रतिबद्ध थियो,’ उनी भन्छन्, ‘तर, प्रायद्वीपको युद्ध कसरी अघि बढ्ला भन्ने विषयमा दक्षिण कोरियाली र अमेरिकी सैन्य योजनाकारहरूको सम्पूर्ण योजनामा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ।’ एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad