अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा युद्धविराम र बन्धक रिहाइका लागि प्रयास अघि बढाउन यतिबेला इजरायलको भ्रमणमा छन्।
बीबीसीका अनुसार गत वर्ष अक्टोबरमा इजरायल र हमासबीच युद्ध सुरु भएयता ब्लिन्केन नवौँपटक इजरायल पुगेका हुन्।
गत हप्ता दोहामा भएको शान्ति वार्ताका क्रममा अमेरिकाले युद्धविराम सम्झौता हुने आशा व्यक्त गरेको थियो।
हमासले इजरायली सेनाले गाजापट्टी पूरै छाड्नुपर्ने माग गरिरहेको छ।
एन्टोनी ब्लिन्केनले यो भ्रमणका क्रममा इजरायली सरकारलाई सम्झौताका लागि दबाब दिने प्रयास पनि गर्न सक्छन्।
अमेरिकाले अर्को हप्तासम्म इजरायल र हमासबीच शान्ति सम्झौता गराउन सकिने आशा गरेको छ।
तर, यस विषयमा इजरायल र हमास दुवै पक्षबाट कुनै सकारात्मक प्रतिक्रिया आएको छैन।
दुवैले एकअर्कालाई शान्ति सम्झौतामा अवरोध गरेको आरोप लगाइरहेका छन्।
आइतबार जारी गरेको विज्ञप्तिमा हमासले इजरायली प्रधानमन्त्रीले युद्धलाई लम्ब्याउने उद्देश्यका साथ सम्झौताका लागि नयाँ सर्त र माग राखेको आरोप लगाएको छ।
हमासले शान्ति सम्झौता असफल हुनुको सबैभन्दा ठूलो कारण इजरायल भएको जिकिर गरेको छ।
Shares

प्रतिक्रिया