चीन र भारतबीच सीमा विवादसम्बन्धी वार्तालाई तीव्रता दिने र सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भएको छ।
नयाँ दिल्लीमा बुधबार आयोजित ३० औँ चरणको सीमा वार्तामा ‘चीन–भारत सीमासम्बन्धी विशेष मुद्दाहरूमा ध्यान केन्द्रित गर्ने र एकअर्काका जायज सरोकारलाई सम्बोधन गरेर दुवै पक्षलाई स्वीकार्य हुने समाधानमा पुग्ने’ सहमति भएको चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ।
‘कूटनीतिक र सैन्य च्यानलमार्फत सञ्चार कायम राख्ने, वार्ताका संयन्त्रहरू गठन गर्ने र बलियो पार्ने, वार्ता प्रक्रियालाई गति दिने, सकेसम्म छिटो सीमाको स्थिति सुधार गर्ने र चीन–भारत सम्बन्धको स्वस्थ र स्थिर विकास गर्ने’ सहमति पनि उनीहरूबीच भएको वक्तव्यमा जनाइएको छ।
अलग्गै वक्तव्य जारी गर्दै भारतीय विदेश मन्त्रालयले नमिलेका विषयमा चाँडै समाधान खोज्ने उदेश्यले दुई पक्षले विद्यमान अवस्थाको समीक्षा गरेको जनाएको छ।
द्विपक्षीय सम्बन्ध सामान्य अवस्थामा फर्किन लाइन अफ एक्चुअल कन्ट्रोलमा शान्ति र स्थिरता पुनर्स्थापना आवश्यक भएको वक्तव्यमा उल्लेख छ।
चुपचाप यसरी अन्त्य हुँदैछ भारत र चीनबीचको दुस्मनी
चीन र भारतबीच सीमामा सैन्य झडप भएको चौथो वर्ष पुग्दै गर्दा दुई मुलुक सम्बन्ध सुधारमा इच्छुक देखिएका छन्। उनीहरूबीच व्यापारिक सम्बन्धले पनि गति पाएको छ। यद्यपि, कूटनीतिक र राजनीतिक सम्बन्ध भने तत्काल न्यानो बन्ने सम्भावना कम रहेको विश्लेषण गरिँदै आएको छ। एजेन्सी
Shares

प्रतिक्रिया