इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तान र कतारको निरन्तर प्रयासका कारण लेबनानमा जारी लडाइँ अन्त्य गर्न ‘ठुलो प्रगति’ भएको दाबी गरेका छन्।
अमेरिका र इरानबिच आइतबार स्विट्जरल्यान्डमा भएको पहिलो चरणको वार्तापछि इरानका विदेशमन्त्री अराघचीको वक्तव्य आएको हो।
यसअघि पाकिस्तानको विदेश मन्त्रालयले कतारसमेतको संयुक्त विज्ञप्ति जारी गरी अमेरिका र इरानबिच उच्चस्तरीय वार्ताको पहिलो सत्र सम्पन्न भएको उल्लेख गरेको छ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सम्झौताका आधारमा संयुक्त रूपमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरिएको छ। यो समितिले सम्पूर्ण वार्ताको अनुगमन गर्नेछ र सबै कुरा सही दिशामा अगाडि बढिरहेको सुनिश्चित गर्नेछ। वार्ताकारहरूले यस समितिलाई नियमित रूपमा रिपोर्ट गर्नेछन्। साथै आणविक कार्यक्रम, इरानविरुद्धका प्रतिबन्ध, निगरानी र विवाद समाधान गर्ने विधिजस्ता विशिष्ट मुद्दामा काम गर्न छुट्टाछुट्टै टोली गठन गरिनेछ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तिम सम्झौतामा पुग्न आगामी ६० दिनभित्र एउटा रोडम्याप विकास गर्ने निर्णय गरिएको छ। यस रोडम्यापका आधारमा तुरुन्तै प्राविधिक वार्ता सुरु हुनेछ। सबै पक्षबिच प्रत्यक्ष सञ्चार लाइन स्थापना गरिएको छ। यसको उद्देश्य गलतफहमी वा द्वन्द्वबाट बच्नु र जहाजहरूलाई हर्मुज स्ट्रेटबाट सुरक्षित रूपमा पार गर्न दिनु हो।’
दुई देशले आफ्नो संयुक्त विज्ञप्तिमा सबै देश मिलेर 'डि-कन्फ्लिक्सन' सेल गठन गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
यसमा लेबनान समावेश हुनेछ र यो कतार र पाकिस्तानजस्ता मध्यस्थता गर्ने देशहरूद्वारा सञ्चालन हुनेछ। यसको काम लेबनानमा युद्ध बन्द गर्ने सम्झौतालाई उचित रूपमा कार्यान्वयन गरिएको सुनिश्चित गर्नु हुनेछ।
त्यही विज्ञप्ति सामाजिक सञ्जालमा सेयर गर्दै इरानका विदेशमन्त्रीले खुसी व्यक्त गरेका हुन्।
विदेशमन्त्री अराघचीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाकिस्तान र कतारको निरन्तर प्रयासका कारण लेबनान युद्ध अन्त्य गर्न उल्लेखनीय प्रगति भएको छ। तेल र पेट्रोकेमिकल बिक्रीमा लगाइएको प्रतिबन्ध हटाइएको छ, नाकाबन्दी हटाइएको छ, केही रोक्का गरिएका सम्पत्ति फिर्ता गरिएको छ र इरानका लागि पुनर्निर्माण र विकासका ठुला योजना बनाइएको छ।’
उनले अगाडि लेखेका छन्, ‘तर पहिलो र वास्तविक परीक्षा लेबनान डि-कन्फ्लिक्सन सेल हो।’
Shares

प्रतिक्रिया