ad ad

ग्लोबल


कीर्तिमानको सँघारमा कमला ह्यारिस, तर ट्रम्पलाई हराउन सक्लिन्?

कीर्तिमानको सँघारमा कमला ह्यारिस, तर ट्रम्पलाई हराउन सक्लिन्?

नेपालखबर
साउन ७, २०८१ सोमबार १६:१४,

चुनावको मात्र चार महिनाअघि उपराष्ट्रपति कमला ह्यारिस निकै अप्ठेरो ठाउँमा आइपुगेकी छन्।

राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पसँगको बहसमा खराब प्रदर्शन गरेपछि उनले चुनाव जित्न नसक्ने र राष्ट्रपति पनि चलाउन नसक्ने भन्दै आलोचना बढेको थियो। उनलाई हट्न दबाब परिरहेका बेला डेमोक्र्याटिक पार्टीमा उनलाई विस्थापित गर्नेहरूको सम्भावित उम्मेदवारमा सबैभन्दा अगाडि ह्यारिसकै नाम थियो।

आइतबार बाइडेनले चुनावी प्रतिस्पर्धाबाट पछि हटेको घोषणा गरे र आफ्नो समर्थन ह्यारिसलाई रहेको बताए। यससँगै ह्यारिस त्यो ठाउँमा पुगेकी छन्, जसको खोजी उनी निकै पहिलेदेखि गरिरहेकी थिइन्। अर्थात्, डेमोक्र्याटिक पार्टीको राष्ट्रपतिको उम्मेदवार र सम्भवतः राष्ट्रपति बन्ने सँघारमा उनी छिन्।

बाइडेनका साथै पूर्वराष्ट्रपतिहरू बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिनटन अनि अरु दर्जनौँ सांसद र गभर्नरले उनलाई समर्थन गरेका छन्। यससँगै उनी पार्टीको उम्मेदवार बन्ने स्पर्धामा सबैभन्दा अगाडि छिन्। तर, उनको मनोनयन निश्चित भइसकेको छैन।

पूर्वराष्ट्रपति बाराक ओबामासहित पार्टीका कयौँ उच्च नेताहरूले आइतबार उनलाई समर्थन गरेनन्। उनलाई कसैले चुनौती दिन्छ या दिँदैन, त्यो पनि स्पष्ट छैन। अर्को महिना हुने पार्टीको सम्मेलनमा बाइडेनको विकल्प छान्न कस्ता नियम अघि सारिनेछन्, त्यो पनि स्पष्ट छैन।

तथापि, बाइडेनको समर्थनले ह्यारिसलाई उम्मेदवारी र राष्ट्रपतिको दौडमा सबैभन्दा अगाडि पुर्‍याइदिएको छ। 

५९ वर्षीया ह्यारिस निर्वाचित भए अमेरिकाको पहिलो महिला राष्ट्रपतिका रूपमा उनले इतिहास रच्नेछिन्। त्यति मात्र होइन, उनी पहिलो एसियन–अमेरिकन र ओबामापछि दोस्रो अश्वेत राष्ट्रपति पनि बन्नेछिन् । उसो त यसअघि नै पहिलो महिला उपराष्ट्रपतिका रूपमा उनले कीर्तिमान कायम गरिसकेकी छन्।

भारतीय–अमेरिकी आमा र जमैकाली–अमेरिकी बुवाकी छोरी ह्यारिसले आफ्नो बाल्यकाल क्यालिफोर्नियाको ओकल्यान्डमा गुजारिन्। उनी सानै छँदा बुवाआमाको सम्बन्धविच्छेद भयो। त्यसपछि कमला र उनकी बहिनी मायालाई आमाले हुर्काइन्, जो क्यान्सर अध्येता थिइन्।

वासिङ्टनको होवार्ड युनिभर्सिटीबाट स्नातक गरेपछि उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कानुनमा स्नातकोत्तर गरिन्। त्यसपछि सरकारी वकिलका रूपमा काम गर्न थालिन्।

राजनीतिमा उनको तीव्र उदयका कारण उनी उपराष्ट्रपति बनिन्। जसको सुरुवात सन् २००३ मा उनी सान फ्रान्सिस्कोको जिल्ला न्यायाधिवक्तामा निर्वाचित भएपछि सुरु भएको थियो। त्यसको सात वर्षपछि उनी क्यालिफोर्निया राज्यकै महान्यायाधिवक्ता चुनिइन्। २०१४ मा उनी सो पदमा पुनः निर्वाचित भइन्। त्यसको दुई वर्षपछि सिनेटकै चुनाव जितिन्।

महान्याधिवक्ता भएकै बेला उनको कर्पोरेट वकिल डगलस एमहफसँग भेट भयो। २०१५ मा उनीहरूले विवाह गरे। एमहफका दुई हुर्केका सन्तानको उनी सौतेनी आमा भइन्। ह्यारिस उपराष्ट्रपति भएसँगै एमहफ अमेरिकाको ‘सेकेन्ड जेन्टलम्यान’ बने।

२०२० मा ह्यारिस आफैँ राष्ट्रपति बन्ने कोसिसमा थिइन्। तर, उनको अभियानले खासै गति लिन सकेन। प्रगतिशीलहरूले उनलाई मन पराएनन्। सरकारी वकिल छँदा उनले आफूलाई ‘अपराधविरुद्ध कठोर’ रूपमा चिनाएकी थिइन्। 

त्यसकारणले उनले राष्ट्रपति बन्ने कोसिस छाडिन्। त्यसको आठ महिनापछि बाइडेनले उनलाई उपराष्ट्रपतिका लागि छनोट गरे।

उपराष्ट्रपतिको कार्यकालको सुरुवात पनि सुखद रहेन उनका लागि। उनलाई अवैध आप्रवासीको आगमनका कारण समाधानको कठिन काम जिम्मा दिइयो। जुन बाइडेनको सबैभन्दा प्रमुख चुनौती थियो।

त्यो काममा पनि उनी चुकिन्। जुन २०२१ मा एउटा टीभी अन्तर्वार्तामा उनलाई सोधियो, तपाईंले अझै पनि मुलुकको दक्षिणी सीमा किन भ्रमण नगर्नुभएको?

उनले कुनै समय भ्रमण गर्ने जवाफ दिइन् र थपिन्, म युरोप पनि त गएकी छैन।

ह्यारिस लोकप्रिय उपराष्ट्रपति रहिनन्। त्यसैले बाइडेनले दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिको उम्मेदवार बदल्ने चर्चा पनि चल्यो। तर, अन्ततः बाइडेन नै पछि हटेका छन्।

यससँगै ह्यारिसको सामुन्ने ऐतिहासिक अवसर देखिएको छ। तर, के उनले ट्रम्पलाई हराउन सक्लिन्?

यसको जवाफ निश्चित छैन। केही सर्वेक्षणहरूमा उनी ट्रम्पविरुद्ध बाइडेनभन्दा कमजोर देखिएकी छन्। अरु कयौँ सर्वेक्षणले उनलाई अगाडि देखाएका छन्। पार्टीका भित्रियाहरू आफ्नो स्थिति सुधार गर्ने सवालमा बाइडेनभन्दा ह्यारिसको सम्भावना राम्रो छ। 

जर्ज सोरोसलगायत दाताहरू पनि उनको पक्षमा उभिएका छन्। ट्रम्पले भने बाइडेनलाई भन्दा ह्यारिसलाई हराउन आफूलाई सहज हुने बताएका छन्। 

ह्यारिससामु यतिबेला दुई ठूला चुनौती छन्। पहिलो पार्टीको उम्मेदवार चुनिने। दोस्रो, नोभेम्बरको चुनावमा ट्रम्पलाई हराउने। तर, यतिबेला उनका सम्भावित प्रतिस्पर्धीहरूले नै उनलाई समर्थन गर्न थालेका छन्। जसमा पेन्सलभेनियाका गभर्नर जोस सापिरो र क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसम छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .