ad ad

ग्लोबल


मोदीसँग कुम जोड्न आइपुगे वर्षौं उनकै छायामा परेका राहुल

मोदीसँग कुम जोड्न आइपुगे वर्षौं उनकै छायामा परेका राहुल

नेपालखबर
असार १३, २०८१ बिहिबार १६:४,

कयौँ वर्षसम्म प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकभर आफ्नो शक्ति बढाउँदै लगेको दृश्य राहुल गान्धी र उनका राजनीतिक सहयोगीहरूले होचो स्थानमा बसेर हेरिरहे।

तर, बुधबार गान्धीले आफूलाई नयाँ स्थान पाए। उनले संसदमा मोदीसँग मञ्च साझा गरे र उनीसँग हात पनि मिलाए। यो गत चुनावमा संकटग्रस्त ठानिएको विपक्षी कंग्रेसले मोदीको सत्तारूढ भाजपालाई दह्रो झट्का दिँदाको नतिजा थियो। कंग्रेसले करिब सय सिट जित्दा गान्धीको चर्चा चुलिएको हो।

‘भारतीय जनताको आवाजको प्रतिनिधित्व गर्ने अनुमति हामीलाई दिनूस्,’ ५४ वर्षीय गान्धीले विपक्षी दलको नेताको हैसियतमा पहिलो भाषणमा भने।

यो प्रतीकहरूले भरिपूर्ण क्षण थियो। गत एक दशकमा मोदीको एकल बहुमतको शासन चलिरहँदा भारतमा विपक्षी दलको नेताको पद खाली थियो। अहिले सो पदमा गान्धी पुगेपछि उनी मोदीको प्रमुख प्रतिद्वन्द्वी बनेका छन्।

यो उनको राजनीतिक करिअरको नयाँ अध्यायको सुरुवात पनि हो र शक्तिशाली गान्धी परिवारका लागि पनि, जसले भारतको इतिहासको अधिकांश समय शासन चलाएको थियो। तर, पछिल्लो समय यो परिवार मतदातासँग जोडिन संघर्ष गर्दै आएको छ।

संसदमा एकल बहुमत गुमाएपछि मोदीको भाजपाले अब गान्धी र अन्य क्षेत्रीय नेताहरूसँग निकट रहेर काम गर्नुपर्ने हुन्छ। जसले गरीबका लागि रोजगार र कल्याणकारी कार्यक्रमको वाचा गरेका छन्। मोदीको दुई कार्यकालमा रबर स्ट्याम्प बनेको संसदलाई ज्यादा बहस हुने स्थान बनाउने र कानुन पारित हुनुअघिको बहस लम्ब्याउने वाचा गरेका छन्। 

विपक्षी दलको नेताका रूपमा गान्धीले अब सशक्त ढंगले मोदीसँग कुरा गर्न सक्नेछन्। विदेशबाट भ्रमणमा आएका राष्ट्रप्रमुखहरूसँग स्वतन्त्रतापूर्वक भेट्ने र चुनाव आयोग तथा अनुसन्धान एजेन्सीजस्ता भारतका प्रमुख अंगहरूको नियुक्तिमा सघाउने शक्ति पनि उनीसँग हुनेछ।

गान्धीको नेतृत्वदायी पदमा भएको उदयले उनको परिवारको ब्रान्डलाई पुनर्जीवन दिएको छ। उनकी बहिनी प्रियंका गान्धी वाड्राले राहुलले छाडेको क्षेत्रमा उपचुनाव लड्ने भएकी छन्। यो उनको पहिलो चुनाव हुनेछ। यो परिवारका तीन पूर्वज राजीव गान्धी, इन्दिरा गान्धी र जवाहरलाल नेहरू प्रधानमन्त्री भइसकेका छन्।

‘राहुल गान्धी टिकाउ नेता हुन्,’ उनीबारे स्ट्रेन्ज बर्डेन्स नामक पुस्तक लेखेका सुगत श्रीनिवासराजु भन्छन्, ‘उनी त्यस्तो अपमान र चरित्रचित्रणबाट डराउने व्यक्ति होइनन्, जुन उनले भोग्नुपर्‍यो।’ ब्लुमबर्गबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .