पोल्यान्डको नयाँ सरकारले ५० जना राजदूतलाई फिर्ता बोलाउने भएको छ। यसअघि रहेको दक्षिणपन्थी सरकारले नियुक्त गरेको राजदूतहरू फिर्ता बोलाउने विदेश मन्त्रालयले जनाएको छ।
अहिले पोल्यान्डमा प्रधानमन्त्री डोनाल्ड टस्कको युरोपेली संघ पक्षधर सरकार छ। चुनौतीपूर्ण समयमा कूटनीतिक मिसनहरूलाई प्रभावकारी बनाउन सो कदम चालिएको विदेश मन्त्रालयले जनाएको छ।
राजदूत परिवर्तन आवश्यक रहेको र यसले पोल्यान्डको विदेश नीतिको अझ राम्रो कार्यान्वयन गर्ने मन्त्रालयको भनाइ छ।
सँगैको युक्रेन युद्ध लडिरहँदा वफादार दूतहरूको टोली हुन आवश्यक रहेको प्रधानमन्त्री टस्कको भनाइ छ। यो अघिल्लो सरकारप्रतिको बदला नभएको उनले बताएका छन्।
गत डिसेम्बरसम्म आठ वर्ष दक्षिणपन्थी सरकार थियो।
कुनकुन राजदूत फिर्ता बोलाउन लागिएको हो, सरकारले खुलाएको छैन। कहिले तिनलाई हटाइने हो, त्यो पनि बताइएको छैन। तर, त्यसको प्रक्रिया सुरु भइसकेको विदेशमन्त्री राडेक सिकोर्स्कीले बताए।
तर, यसलाई अघिल्लो सरकारसँग निकट सम्बन्ध भएका राष्ट्रपति आन्द्रेइ डुडाले अनुमोदन नगर्ने चर्चा छ। त्यसो भएमा राजदूतहरू फिर्ता हुने छैनन्।
डिसेम्बरमा प्रधानमन्त्री हुने टुंगो लागेपछि टस्कले सबथोक ठिक गर्ने बताएका थिए। गार्डियन
Shares
प्रतिक्रिया