ad ad

ग्लोबल


घोडा स्याहारेर गुजारा गर्दैछन् विश्वकै ठूलोमध्येको हीरा फेला पार्ने युवा

घोडा स्याहारेर गुजारा गर्दैछन् विश्वकै ठूलोमध्येको हीरा फेला पार्ने युवा

मेरी गुडहर्ट
पुस २२, २०८० आइतबार १७:१८,

यो सन् २०१७ को सबैभन्दा सानदारमध्येको एउटा खबर थियो। सियरालियोनमा ‘शान्ति हीरा’ को खोजी त्यो बेला विश्वभरका सञ्चारमाध्यममा मुख्य समाचार बनेका थिए। 

एक अफ्रिकी मुलुक, जहाँ हीराको पर्यायवाची भनेकै रक्तपात र गरिबी हो। यो बहुमूल्य पत्थरबाट हुने आम्दानी स्थानीयवासीहरुको जीवन परिवर्तन गरिदिने कारक पनि हो।   

सञ्चारमाध्यमहरुमा हंगामा मच्चाएको यो हीरा खोजीमा संलग्न पाँच व्यक्ति थिए। हीरा उत्खननका लागि उनीहरुले निकै कडा मेहनेत गरे। 

ती तीनजनामध्ये कोम्बा जोनबुर र एन्ड्रयू साफी सबैभन्दा कम उमेरका थिए। 

खोजीको क्रममा उनीहरुको नजर धुलोमा गाडिएको एउटा चम्किलो पत्थरमा प¥यो। उनीहरुलाई लाग्यो, अब उनीहरुको सपना सत्य साबित भयो। 

साफी जेहेन्दार र तीक्ष्णबुद्धिका विद्यार्थी थिए। तर, गरिबीका कारण उनले स्कुल छाड्न बाध्य हुनुपर्यो। 

सन् १९९२–२००२ को सियरालियोनको गृहयुद्धमा उनको परिवारको आर्थिक स्थिति कमजोर भएको थियो।

हीरा खोज्ने मजदुरी, गरिबको सहारा
एक स्थानीय क्रिस्चियन धर्मगुरुले हीरा खोजी गर्ने कार्यका लागि लगानी गरेका थिए। उनले लगानी गरेका व्यक्तिमा यी दुई किशोर पनि सामेल थिए। 

हीरा खोजीमा सामेल हुनुअघि धर्मगुरुले सर्त राखेका थिए– मजदुरी गरेबापत उनीहरुले नगद रकम भने पाउने छैनन्। 

रकमको साटो हीरा खोजीमा प्रयोग हुने उपकरण र तिनका परिवारलाई खानेकुरा प्रदान गरिने सर्त थियो। हीरा पत्ता लाग्दा पत्ता लगाउनेलाई बिक्रीबाट प्राप्त हुने सबैभन्दा बढी रकम प्रदान गरिने भनिएको थियो।  

यी दुई किशोरहरुको आशा भने फरक थियो। हीरा फेला पर्यो भने प्राप्त हुने रकम बचाएर स्कुल जाने र पढाइ अघि बढाउने सपना उनीहरुले साँचेका थ्एि। 

जोनबुल

हीरा खोजीको काम भने निकै कठिन थियो। झिसमिसेमै उठ्नुपथ्र्याे। बिहानको नास्तापछि उनीहरु खजुरको खेतमा जान्थे। खेतमा हीरा पाइन्छ कि भनेर उनीहरु गहिरो खाडल खन्थे। यो काम बेलुकीको खाना खाने बेलासम्म जारी रहन्थ्यो। 

काम गर्दागर्दा दुवै हत्तु भएका थिए। साफी सम्झन्छन्, ‘एकपटक त मैले जोनबुलसँग भनेको थिएँ, मेरो त आशा नै मरिसक्यो।’ 

जोनबुलको भनाइमा, कामका दौरान उनीहरुले भारी वर्षा र भयंकर गर्मी खेप्नुपथ्र्याे। 

‘काम त गर्नै पर्यो। त्यसैले, साहसका लागि हामी एक–अर्काेलाई सान्त्वना दिने काम गथ्र्याैं,’ जोनबुल सम्झन्छन्, ‘तनाव हटाउन हामी बेला–बेला मजाक पनि गथ्र्याैं। हामीसँग एउटा ब्लुटुथ थियो, जसमा मोबाइल कनेक्ट गरेर हामी गीत सुन्दै काम जारी राख्थ्यौँ।’ 

यदि हीरा फेला पर्यो र रातारात धनी बनियो भने के गर्ने होला! 

बेला–बेला उनीहरुको मनमा यस्तो सोचाइ पनि आउने गथ्र्याे।

जोनबुलको सपना थियो, दुई तले घर बनाउने अनि टोयोटा एफजे क्रुजर गाडी किन्ने। 

साफीको सपनाचाहिँ आफ्नो पढाइ पूरा गर्ने थियो। 

साँच्चिकै उनीहरुको सपना पूरा गर्ने दिन पनि आइपुग्यो। 

पहिलेझैँ त्यसदिन पनि खजुरको बोट भएको खेतमा जानुअघि उनीहरुले  नास्ता खाए, प्रार्थना गरे। लगत्तै हीरा खोजीका लागि जमिन खन्ने काम सुरु भयो।

त्यो दिन थियो– १३ मार्च २०१७ (३० फागुन २०७३)। 

उनीहरुको जिम्मेवारी थियो– जमिन खन्ने, त्यसक्रममा निस्केको ढुङ्गा र माटोलाई छुट्ट्याउने र वर्षाको पानी भरिनबाट खाल्डोलाई जोगाउने।  

काम गरिरहेकै थिए। त्यसैबेला जोनबुलको नजर एउटा चम्किलो पत्थरमा पर्यो। 

‘पानीमा बगिरहेको त्यो पत्थर मेरै नजिक नजिकै आउँदै थियो, पहिले नदेखेकाले हीरा कस्तो हुन्छ, खासमा मलाई थाहा थिएन,’ उनले भने, ‘तैपनि सहज बुद्धि (कमन सेन्स) का आधारमा मलाई लाग्यो कि, हामीले खोजी गरिरहेको पत्थर यही हो।’ 

उनले थपे, ‘करिब एक मिनेट मैले त्यो पत्थरलाई एकटकले हेरिरहेँ। त्यसपछि काकासँग सोधेँ : चम्किरहेको यो पत्थर के हो?’ 

६५ लाख डलरमा बिक्री 
जोनबुल नजिकै पुगे र त्यो पत्थर उठाए। 

‘त्यो पत्थर निकै चिसो थियो, जब मैले काकालाई देखाएँ, उहाँले त्यो पत्थर मेरो हातबाट खोस्नुभयो’ जोनबुलले भने, ‘यो त हीरा पो हो!’ 

त्यो ७०९ क्यारेटको हीरा थियो, जो विश्वमा प्राप्तमध्ये १४ औँ ठूलो हीरामा गनिन्छ। 

उनीहरुले यसबारे धर्मगुरु इमान्युअल मोमोहलाई जानकारी दिए। धर्मगुरुले यसलाई कालो बजार (ब्ल्याक मार्केट) मा बेच्नुको साटो सरकारलाई सुम्पने निर्णय गरे।   

हीरा बापत सरकारले धर्मगुरुलाई ६५ लाख डलर दियो। 

अहिले पनि जोनबुल र साफीजस्तै सियरालियोनका हजारौँ व्यक्तिहरु यस्ता गैरकानुनी हीराखानीमा काम गर्छन्।  

ठूलो र पूरा आकारको यस्तो हीरा हुनु त उनीहरुका लागि नसोचेको कुरा हो। खोजी गर्दा साना–साना टुक्रा मात्र फेला पर्ने हुनाले यति धेरै मानिस हीरा खोजीमा लाग्नु परेको हो।  

हीरा सरकारले खरिद गरेसँगै सम्झौता भयो– प्राप्त हुने नाफा स्थानीय विकासका लागि सरकारले खर्च गर्नेछ। 

त्यसदिन जुन हीरा प्राप्त भएको थियो, खोजी कार्यमा लागेकाहरुलाई प्रतिव्यक्ति ८० हजार डलर प्रदान गरियो। खोजी कार्यमा लाग्दा उनीहरुले सोचेभन्दा ठूलो रकम थियो यो।  

तर, उनीहरुले त सोचेभन्दा ठूलो हीरा फेला पारेका थिए। प्राप्त भएको हीराको तुलनामा उनीहरुले निकै सानो रकम पाएको थियो।

यसले गर्दा उनीहरु अलिक निराश पनि भए।  

सारा पैसा स्वाहा 
‘हीरा बिक्री भएपछि त्यसबापत प्राप्त हुने रकम जब मैले पाएँ, एक हप्ता त मैले त्यसलाई छुँदा पनि नछोइकन राखेँ,’ जोनबुल भन्छन्, ‘त्यसपछि एउटा घर खरिद गर्ने योजनाका साथ म फ्रिटाउन गएँ।’ 

साफी भने आफ्नो पढाइ अघि बढाउन क्यानडा जान चाहन्थे। जोनबुलको चाहना पनि उनीसँगै क्यानाडा जाने थियो। 

यात्रा खर्च, विश्वविद्यालय शुल्क, त्यहाँ रहँदा लाग्ने अन्य खर्चका लाग साफीले दलाललाई १५ हजार डलर सुम्पे। दलालले उनलाई घाना लिएर गयो। उनी त्यहाँ ६ महिना रहे। त्यहाँ रहँदा उनको ठूलो रकम खर्च भयो।   

अन्तिममा क्यानाडा जाने योजनाले हावा खायो। भिसाका लागि दिएको आवेदन नै रद्द हुन पुग्यो। उनी फेरि सियरालियोन फर्के। 

यतिञ्जेलसम्म उनको थप रकम पनि खर्च भइसकेको थियो। अब साफीले जीवनको नयाँ यात्रा सुरु गर्ने निधो गरे। 

अर्थात् उनले अर्काे देश रोजे। सुरक्षालाई कारण उनी अहिले मजदुरी गरिरहेको देशको नाम उल्लेख गर्न चाहँदैनन्। 

त्यहाँ जानुअघि उनलाई भनिएको थियो– दिउँसो गाडी चलाउने काम गर्नुपर्नेछ। साँझको समयलाई उनले पढाइमा उपयोग गर्न पाउनेछन्।  

त्यहाँ पुगेपछिको वास्तविकता भने साफीले फरक पाए। 

‘मैले बग्गीखानामा घोडाको स्याहारसम्भार गर्नुपर्यो, खाने र सुत्ने काम पनि बग्गीखानामै हुन्थ्यो,’ अरु मजदुरका लागि बस्ने छुट्टै ठाउँ दिइयो, मेरा लागि भने सुत्ने ठाउँ पनि बग्गीखाना नै छुट्ट्याइयो।’ 

हीरा पर्दा उनले बग्गीखानामा घोडा स्याहार्नेजस्तो रद्दी काम गर्नुपर्ला भन्ने अलिकति पनि सोचेका थिएनन्। 

घर बाहिर रहनुपर्दा उनको हालत निकै खराब भइसकेको थियो।  

राम्रो जीवनको खोजी गर्दै विदेश धाउँदा हीरा फेला परेबापत प्राप्त सबै रकम समाप्त भइसकेको छ। भएभरको पैसा सकिएपछि उनी आफ्नै देश फर्कने योजना बनाउन थाले।  

पहिचानविनाको जीन्दगी  
यी युवकको मनमा के पीडा छ भने हीरा खोजीका लागि उनीहरुले जुन दुःख गरे, त्यसअनुसारको श्रेय पाउन सकेनन्। 

सञ्चारमाध्यमहरुले हीरा खोजीको श्रेय तिनै धर्मगुरुलाई दिए, जसले खोजीका लागि लगानी गरेका थिए। 

हीरा खोजीमा लाग्ने श्रमिकहरुबारे सञ्चारमाध्यमले निकै कम उल्लेख गरे।   

सञ्चारमाध्यमले गरेको यस्तो अन्यायपछि साफी आफैपनि चर्चामा आउन चाहेनन्। खासमा उनले आफू बहिष्करणमा परेको महसुस गरिरहेका थिए।  

अहिले उनी आफ्नै देश फर्कने योजनामा छन्।   

जोनबुल भने सियरालियोनमा नै छन्। उनलाई लाग्छ, ‘हीरा खोजीबाट प्राप्त रकम साफीले फरक काममा खर्च गर्नुपथ्र्याे। त्यही नगरेर साफीले गल्ती गरे।’ 

‘त्यो रकम प्राप्त हुँदा म कलिलै थिएँ। रकम प्राप्त भएपछि मैले जे–जेमा त्यो रकम खर्च गरेँ, त्यो सम्झँदा म आफैलाई पनि दिक्क लाग्छ।’ जोनबुल भन्छन्, ‘मलाई जे राम्रो लाग्थ्यो, म त्यही चिज किन्थेँ। मैले कपडा र अन्य वस्तुका लागि त्यो रकम खर्च गरेँ। तपाईंहरुलाई पनि थाहै छ, युवा उमेरका व्यक्तिहरु अक्सर यस्तै कुरामा खर्च गर्छन्।’  

यता साफी चुकचुकाउँछन्, ‘यदि पैसा कमाउने धुनमा विदेश जाने महत्वाकांक्षा नपालेको भए त्यो रकमबाट लाभ हुने गरी धेरै काम गर्न सक्ने थिएँ।’ 

साफी अहिले जस्तो खराब जीवन जिउँदैछन्, यस्तो जीवन जिउनु पर्ला भन्ने उनले सपनामा पनि सोचेका थिएनन्।  

जोनबुल भने फ्रीटाउनमा आल्मुनियमको झ्यालढोका बनाउने काममा संलग्न छन्। उनको जीवन राम्रै ढंगले बितिरहेको छ।  

‘म जन्मँदा मेरा माता–पिताको आफ्नै घर थिएन। तर अहिले फ्रीटाउनजस्तो ठाउँमा मेरा बालबच्चा उहाँहरुको काखमा हुर्किरहेका छन्,’ जोनबुल भन्छन्, ‘हामीजस्ताका लागि यो निकै ठूलो प्रगति हो। बाल्यकालमा मैले जस्तो अभाव झेलेँ, कम्तीमा मेरा बालबच्चाले त्यस्तो अभाव झेल्नु पर्दैन।’ (बीबीसी हिन्दीबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .