अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि इरानसँग हस्ताक्षर गरिएको समझदारीपत्र ‘समाप्त’ भएको बताएका छन्। साथै अब ऊसँग वार्ता पनि नगरिने दाबी उनले गरेका छन्।
बुधबार टर्कीको अंकारामा नेटो शिखर सम्मेलनअघि उनले भने, ‘मलाई लाग्छ, अब यो (सम्झौता) समाप्त भयो। म उनीहरूसँग वार्ता गर्न चाहन्नँ।’
इरानको नेतृत्व बिरामी मानिसले गरिरहेको आरोप लगाउँदै ट्रम्पले अब वार्ता गर्नु समयको बर्बादी मात्र हुने टिप्पणी गरे।
यसअघि अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका ८० भन्दा बढी सैन्य संरचनाविरुद्ध हवाई आक्रमण गरिएको बताएको थियो।

उता इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि अमेरिकाले हमला गरेर सम्झौता निष्प्रभावी बनाएको आरोप लगाएका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, ‘अमेरिकाको आक्रमण, इरानी तेल बिक्रीमा पुन: लगाइएको प्रतिबन्ध र लेबनानमा हेजबुल्लाहसँग इजरायलको जारी द्वन्द्वले युद्धविराम सम्झौताको मुख्य र आधारभूत भागलाई प्रभावहीन बनाएका छन्।
उनले चेतावनी दिँदै अगाडि भनेका छन्, ‘इरान आफ्नो क्षेत्रीय अखण्डता, राष्ट्रिय सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा रक्षाका निम्ति कुनै पनि उपाय अपनाउन हिचकिचाउने छैन।’
अराघचीले अमेरिकाका सैन्य अड्डा रहेका खाडी देशहरूलाई पनि चेतावनी दिएका छन्।
उनले भनेका छन्, ‘यदि त्यहाँबाट इरानमा कुनै पनि आक्रमण हुन्छ भने त्यसको स्रोत र उत्पत्तिलाई निसाना बनाइनेछ।’
Shares

प्रतिक्रिया