इजरायलमा रहेका एकजना नेपाली प्रवासी एक नेपालीले हमास विद्रोही समूहले शनिबारै बिहान गरेको आक्रमणका कारण ठूलो क्षति भएको बताएका छन्।
तेह्रथुम घर भएका ती नेपाली परिवारसहित इजरायलमा छन्।
ती नेपालीले नेपालखबरसँग भने, ‘हमासहरूले पहिले पहिले इजरायलमा रकेट हमला गर्थे तर यस पटक जमिनबाट पनि आक्रमण गरे। उनीहरूले इजरायलतर्फको एउटा कृषि फार्म रहेको किबुज गाउँ नै कब्जा गरेछन्।’
हमासले बिहान सबेरै नेपालीसमेत कार्यरत किबुजको कृषि फार्म कब्जा गरिराखेको बताए।
जहाँ उनीहरूको घेराबन्दीमा कृषि पढिरहेका केही नेपाली विद्यार्थीहरू पनि रहेको सूचना तेल अभिभस्थित दूतावासलाई पनि आएको छ।
‘अहिले हामी त सुरक्षित छौँ। हामी तेल अभिभमा छौँ। जेरूसेलम र तेल अभिभमा केही भएको छैन। तारबार र पर्खाल लगाएको सीमाक्षेत्रमा बुलडोजरले तोडेर पसेका रहेछन्’, उनले भने।
उनका अनुसार इजरायली फौज जवाफी आक्रमणमा उत्रिसकेको छैन। तर त्यहाँको हवाई उडान अहिले बन्द गरिएको छ।
नेपालीहरू हताहत भएको कुरा अहिले पुष्टि भइसकेको छैन।
‘कम्तीमा ९ नेपाली घाइते भएको कुरा छ। तर अरू कति नेपाली परे भन्ने एकीन भएको छैन। सबै विवरणका लागि भोलि बिहानसम्म कुर्नुपर्ने हुन्छ’, उनले भने।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कम्तीमा पनि २२ जनाले ज्यान गुमाएका छन् भने ५०० बढी घाइते भएका छन्।
(नोट : इजरायलको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै हामीसँग सम्पर्कमा आएका नेपालीकाे नाम गोप्य राखेका छौं–सम्पादक)
Shares

प्रतिक्रिया