आइतबार मध्यरातिदेखि इजरायली सहर तेल अवीभमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध ठूलो प्रदर्शन जारी छ।
नेतान्याहूले आफ्ना रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरेका छन्। त्यसबेलादेखि देखिएको सार्वजनिक आक्रोश सडकमा ओर्लिएको छ। नागरिकहरूले फेरि एकपटक प्रधानमन्त्री विरुद्ध आन्दोलन सुरु गरेका छन्।
नेतान्याहूले बर्खास्त गरेका रक्षामन्त्री न्याय प्रणालीको सुधारसम्बन्धी नयाँ कानूनको विरुद्धमा थिए।
हातमा इजरायली झण्डा लिएर नागरिकहरूले ‘लोकतन्त्र’को नारा लगाइरहेका छन्। आइतबार रातिदेखि प्रदर्शनकारीहरूले सडक र आयलोन राजमार्ग लगायतका पुलहरू अवरुद्ध गरेका छन्।
जेरुसेलममा प्रहरी र सैनिकहरूले प्रदर्शनकारीहरू विरुद्ध पानीको फोहोरा प्रयोग गरे। प्रदर्शनकारीहरूले प्रधानमन्त्री नेतन्याहुको घर नजिकै प्रदर्शन गरिरहेका थिए। नयाँ प्रस्तावित कानूनलाई लिएर एक हप्तामा धेरै प्रदर्शनको योजना बनाइएको छ।
प्रधानमन्त्री नेतन्याहुले योजना बनाएको सुधारअन्तर्गत न्यायाधीश नियुक्ति गर्ने समितिमा सरकारको पूर्ण नियन्त्रण रहने बताइएको छ। यदि यो कानून लागू भएमा सरकारले नियुक्त गरेका अयोग्य नेतालाई हटाउने अधिकार अदालतलाई रहनेछैन। जसका कारण धेरै मानिसहरु आक्रोशित भएका छन्।
प्रधानमन्त्री नेतन्याहुविरुद्ध अहिले भ्रष्टाचारका धेरै मुद्दा पनि चलिरहेका छन्।
झण्डा फहराउँदै र भाँडाहरू पिटेर नेतान्याहूको घर बाहिर नागरिकले प्रदर्शन गरिरहेका छन्।
एक सरकारी कर्मचारीले नेतान्याहू प्रधानमन्त्री बनेपछि लोकतन्त्र दबाउन हरेक प्रयास गरेको आरोप लगाएका छन्।
आन्दोलनमा संलग्न एक सरकारी कर्मचारीले भने, ‘हामी लोकतन्त्रको अन्तिम अवशेषको रक्षा गर्न सडकमा उत्रिएका हौँ, नेतान्याहूको यो पागलपन रोक्नका लागि सडकमा नउत्रिएर म यसरी सुत्न सक्दिनँ। हामीले यो पागलपन रोक्नु पर्छ अनि मात्र हामी केही गर्न सक्षम हुनेछौं।
प्रतिक्रिया