ad ad

ग्लोबल


अमेरिका गलत बाटोमा अघि बढिरहे द्वन्द्व निश्चित छ : चिनियाँ विदेशमन्त्री

अमेरिका गलत बाटोमा अघि बढिरहे द्वन्द्व निश्चित छ : चिनियाँ विदेशमन्त्री

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १५:१२, काठमाडौँ

चिनियाँ विदेशमन्त्री छिन काङले चीनको दमन गरेर अमेरिका महान नबन्ने बताएका छन्। ‘टु सेसन्स’ का क्रममा आफ्नो पहिलो पत्रकार सम्मेलनमा बोल्दै छिनले अमेरिकाले चीनलाई रोक्न नसक्ने भन्दै वासिङ्टनले सो प्रयास नछाडे द्वन्द्वको खतरा रहेको औँल्याए।

‘नियन्त्रण र दमन गरेर अमेरिका महान हुँदैन। यसले चीनको कायाकल्पलाई रोक्न सक्दैन।

‘यदि अमेरिकाले ब्रेक दबाउँदैन र यो गलत मार्गमा अघि बढिरहन्छ भने निश्चय नै द्वन्द्व र टकराव हुनेछ। त्यसको प्रलयकारी परिणाम कसले बेहोर्ने?’ उनले सोधे। 

चीनले गरिब मुलुकहरुलाई ऋणपासोमा पारेको आरोप अस्वीकार गर्दै बरु अमेरिकी ब्याजदर बढ्दा विश्वभर ऋण संकट बढेको उनको भनाइ थियो।

‘ऋणपासो सिर्जना गरेको आरोपको अन्तिम भागिदार मात्र हो चीन,’ उनले भने। 

उनले अमेरिकी इन्डो–प्यासिफिक रणनीति ‘नेटोको एसिया–प्यासिफिक संस्करण’ भएको दाबी पनि गरे।

‘यो रणनीतिले एउटा सानो समूह बनाउँछ र खुलापन, क्षेत्रीय सुरक्षाको नाममा एकअर्कालाई अलग गर्ने कार्यलाई प्रबद्र्धन गर्छ,’ छिनले भने।

उनले एसिया शीतयुद्धको मैदान बन्न नहुने बताए।

ताइवानसम्बन्धी प्रश्न सोधिएपछि छिनले चीनको संविधान निकालेर जवाफ दिएका थिए।

अमेरिकाले ताइवान विनाशको योजना बनाएकोमा जवाफ दिनुपर्ने उनको भनाइ थियो। गत महिना एक अमेरिकी रेडियो कार्यक्रम सञ्चालकले ह्वाइट हाउस स्रोतलाई उधृत गर्दै राष्ट्रपति जो बाइडेनले ताइवान विनाशको योजना बनाएको दाबी गरेका थिए।

‘अमेरिका किन युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको कुरा गर्छ तर ताइवानमाथि चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दैन? अमेरिका किन अरु मुलुकलाई रुसमा हतियार आपूर्ति गर्न दिँदैन तर आफू चाहिँ ताइवानलाई हतियार दिन्छ?’ उनले प्रश्न थियो।

अमेरिकाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छिन युरोपप्रति भने नरम सुनिए।

युक्रेन युद्धपछि युरोपले रणनीतिक स्वायत्तता र दीर्घकालीन सुरक्षा तथा स्थायित्व प्राप्त गर्ने आशा पनि उनले व्यक्त गरे।

रुसलाई चीनले हतियार नदिएको पनि उनले स्पष्ट पारे। चिनियाँ कूटनीतिज्ञहरुलाई ‘वुल्फ वारियर’ भनिएकोमा पनि उनले आपत्ति जनाए।

‘जसले यस्तो भाष्यको जाल निर्माण गरे, तिनले या त चीन र चिनियाँ कूटनीति बुझेका छैनन् या  तिनको नियत खराब छ,’ उनले भने, ‘चिनियाँ कूटनीतिमा पर्याप्त कोमलता र प्रतिष्ठा छ। तर, जब ब्वाँसो आउँछ र आक्रमण गर्छ, चिनियाँ कूटनीतिज्ञहरुले पनि आफ्नो देश बचाउन ब्वाँसोकै तालमा नाच्नुपर्ने हुन्छ।’

पत्रकार सम्मेलनका क्रममा छिनले १४ वटा प्रश्नको जवाफ दिएका थिए। अघिल्लो वर्ष उनका पूर्ववर्ती वाङ यीले भने २७ प्रश्नको जवाफ दिएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .