चिनियाँ बेलुन खसाएर अमेरिकाले विवेकहीन र उन्मादी व्यवहार देखाएको चीनका वरिष्ठतम कूटनीतिज्ञ वाङ यीले बताएका छन्। अमेरिकाले शक्तिको दुरुपयोग गरेको पनि उनले आरोप लगाए।
शनिबार म्युनिख सेक्युरिटी कन्फ्रेन्समा बोल्दै वाङले भने, ‘यसले अमेरिका शक्तिशाली छ भन्ने देखाउँदैन। बरु उल्टो ऊ कमजोर छ भन्ने देखाउँछ।’
विदेश मामिला निर्देशक वाङले बाइडेनले घरेलु समस्याबाट नागरिकको ध्यान हटाउन बेलुन खसाएको पनि बताए।
‘आकासमा त धेरै बेलुन छन्। के सबै खसाउनुहुन्छ?’ उनले अमेरिकालाई सोधे।
सो बेलुन मौसमसम्बन्धी अध्ययनका लागि पठाइएको तर प्रतिकूल मौसमका कारण बाटो बिराएर अमेरिका पुगेको चीनले बताउँदै आएको छ।
अमेरिकाले भने त्यो जासुसी बेलुन भएको बताउँदै सबैभन्दा महंगो लडाकु विमानले क्षेप्यास्त्र हानी खसाएको थियो।
वाङले युक्रेन र रुसबीच शान्ति वार्तालाई अन्य शक्तिहरुले बिथोलेको आरोप पनि लगाए।
‘हामी चुपचाप बसेका छैनौँ। हामी आगोमा घिउ हालिरहेका छैनौँ। हामी शान्ति र संवादको पक्षमा छौँ,’ उनले भने।
उनले युक्रेनमा युरोपलाई अमेरिकाको अडानभन्दा फरक धारणा राख्न पनि सुझाए।
‘युरोपका हाम्रा मित्रहरुले युक्रेनमा कसरी शान्ति ल्याउने र आफ्नो रणनीतिक स्वायत्तता कसरी कायम राख्ने भनेर शान्तिपूर्वक सोच्नुपर्छ,’ उनले भने।
अमेरिकाले चीनलाई चिप प्रविधि भित्र्याउनबाट रोकेर विश्व व्यापार संगठनको नियम ठाडै उल्लंघन गरेको पनि बताए।
ताइवानमा चीनले तत्काल आक्रमण गर्दैन भनेर कसरी आश्वस्त पार्नुहुन्छ भन्ने प्रश्नमा वाङले ताइवान चीनको हिस्सा भएको जवाफ दिए।
‘यो कहिल्यै पनि देश बनेको छैन। र, भविष्यमा पनि देश बन्ने छैन,’ ताइवानमा बाहिरी हस्तक्षेप नगर्न चेतावनी दिँदै उनले भने।
कन्फ्रेन्समा उनले जर्मन चान्सलर ओला सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग पनि भेटेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया