ग्लोबल


रसियालाई हतियार सहयोग र अमेरिका पुगेको ‘जासुसी बेलुन’बारे यसो भन्छ चीन

रसियालाई हतियार सहयोग र अमेरिका पुगेको ‘जासुसी बेलुन’बारे यसो भन्छ चीन

नेपालखबर
माघ २७, २०७९ शुक्रबार ११:३९, काठमाडौँ

चीनले पछिल्लो समय अमेरिकामा देखिएको कथित ‘जासुसी बेलुन’ र रुस-युक्रेन युद्धलाई लिएर आफ्नो पछिल्लो भनाइ सार्वजनिक गरेको छ। 

चिनियाँ विदेश मन्त्रालयले बिहीवार एक पत्रकार सम्मेलनमा अमेरिकामा देखिएको बेलुन र रूस-युक्रेन युद्धमा आफ्नो अडान सार्वजनिक गरेको हो। 

ब्लुमबर्गका एकजना पत्रकारको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयको प्रवक्ता माओ निङ्गले युक्रेन मुद्दामा चीनले पहिले पनि आफ्नो पोजिसन सार्वजनिक गरिसकेको बताएकी छन्। 

माओ निङ्गललाई पत्रकारले युक्रेनमा जारी युद्धमा चीनले रसियालाई सैन्य प्रयोगका लागि हतियार र प्राविधिक सहयोग दिइरहेको विषयमा सोधेका थिए। रुसलाई सहयोगको आरोपमा चीनलाई जी ७ मुलुकले नयाँ प्रतिबन्ध लगाउन सक्नबारे पनि उनलाई सोधिएको थियो।

यी प्रश्नको जवाफमा माओ निङ्ले भनिन्, 'चीनले पहिले यस मामिलामा आफ्नो स्थिति स्पष्ट पारिसकेको छ। राष्ट्रपति शी चिनफिङले यसअघि नै शान्ति वार्तालाई बढावा दिँदै तनाव कम गर्ने सकारात्मक कोशिश गरिसक्नु भएको छ।'

उनले चीन अहिले पनि एकतर्फी प्रतिबन्धनको विपक्षमा रहेको बताएकी छन्।

'चीन एकतर्फी प्रतिबन्धविरुद्ध छ। कसैको पनि यस्तो निर्णयको हामी आलोचना गर्छौँ जसको अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघीय सुरक्षाअनुसार कोही आधार छैन', उनले भनेकी छन्, 'चीन आफ्नो र चिनियाँ कम्पनीको हितको रक्षाका लागि प्रतिबद्ध छ। चीनले यसका लागि कानुनको दायरामा रहेर हरेक कदम उठाउनेछ।'

त्यसैगरी चिनियाँ बेलुनलाई लिएर सोधिएको प्रश्नमा विदेशमन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ। पत्रकारहरुले उक्त बेलुनका उपकरण र त्यसको स्वामित्वबारे पनि पत्रकार सम्मेलनमा सोधेका थिए। 

यसबारे माओ निङ्गले भनिन्, ''चीनले त्यो बेलुनलाई लिएर लगातार जानकारी दिइरहेको छ। अमेरिकी आकाशमा नागरिक प्रयोजनको चिनियाँ बेलु्न प्रवेश गर्नु एक अप्रत्याशित घटना थियो। चीनले पटक पटक अमेरिकालाई यसबारेमा अनावाश्यक बल प्रयोग गरेकोमा आफ्नो धारणा दिइसकेको छ।'

चीनले जासुसी र अन्य देशको निगरानीमा अमेरिका नै अगाडि रहेको जनाउँदै बेलुनलाई लिएर भड्किनुको कुनै औचित्य नभएको पनि जनाएको छ। 

'चीन अमेरिकी कदमको कडा विरोध र निन्दा गर्छ। अमेरिकाले नागरिक प्रयोजनका लागि छाडिएको बेलुनबारे दिइएको भड्किलो प्रतिक्रियाको आलोचना गर्छ', उनले भनेकी छन्, 'यो अमेरिकाको दुष्प्रचार हो, जो उसले चीनविरुद्ध गर्दै आएको छ। जासुसी र निगरानीमा कुन देश सबैभन्दा अगाडि छ, त्यो दुनियाँलाई थाहा छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad