टेस्लाका कार्यकारी प्रमुख तथा विश्वकै सबैभन्दा धनी व्यक्ति इलोन मस्कले ताइवान हङकङजस्तै चीनको विशेष प्रशासनिक क्षेत्र बन्नुपर्ने बताएपछि उनी विवादमा तानिएका छन्।
फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा मस्कले बेइजिङ र ताइपेइका सरकारले यथोचित बन्दोबस्त गर्नुपर्ने बताएका थिए।
‘मेरो सिफारिस के हुन्छ भने ताइवानका लागि एउटा यथोचित विशेष प्रशासनिक क्षेत्र बनाउनुपर्छ। सायद त्यसले सबैलाई खुसी भने तुल्याउने छैन,’ मस्कले शुक्रबार टाइम्समा प्रकाशित विस्तृत अन्तर्वार्तामा भनेका छन्, ‘मलाई लाग्छ, सम्भवतः त्यस्तो व्यवस्था हङकङको भन्दा उदार हुनसक्छ।’
शनिबार अमेरिकाका लागि चिनियाँ राजदूत चिन काङले ट्विटरमार्फत मस्कको सुझावको स्वागत गरे। उनले शान्तिपूर्ण पुनर्एकीकरणपछि ताइवानले विशेष प्रशासनिक क्षेत्रका रुपमा उच्च तहको स्वशासन प्राप्त गर्ने बताए।
तर, अमेरिकाका लागि ताइवानी प्रतिनिधि स्याओ बिखिमले ट्विटरमा भने, ‘ताइवान थुप्रै उत्पादन बेच्छ। तर, स्वतन्त्रता र लोकतन्त्र बिक्रीमा छैन।’
कतिपय पश्चिमा टिप्पणीकर्ताहरुले मस्कको कडा आलोचना गरेका छन्।
सेप्टेम्बर महिनामा मात्र टेस्लाले ८३ हजार १३५ चीनमा निर्मित विद्युतीय वाहन बिक्री गरेको छ।
सांघाइस्थित टेस्लाको कारखानाले उत्पादन वृद्धिको प्रयास गरिरहेको छ। एजेन्सी
Shares
प्रतिक्रिया