चिनियाँ राष्ट्रपति सी चिनफिङ कोभिड–१९ को महामारीपछि बुधबार पहिलोपटक विदेश भ्रमणमा जाँदै छन्।
पहिलो विदेश भ्रमणको क्रममा सीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्नेछन्। उज्वेकिस्तानमा हुने क्षेत्रीय सम्मेलनको साइडलाइन वार्तामा सी र पुटिनबीच भेटवार्ता हुने तय भएको हो।
दुवै नेता अहिले महत्वपूर्ण समयबाट गुज्रिरहेका छन्। सी आगामी महिना हुने पार्टीको सम्मेलनबाट ऐतिहासिकरुपमा तेस्रो कार्यकाल सुरु गर्ने तयारीमा छन् भने पुटिन युक्रेनमाथिको आक्रमणको कारण उत्पन्न परिस्थितिको सामनाको लागि साथ खोजिरहेका छन्।
यद्यपि दुई नेताको भेटवार्ताबारे रुस र चीन दुवैले आधिकारिक जानकारी भने दिएका छैनन्। बुधबार सी काजकस्तानको लागि प्रस्थान गर्नेछन्।
त्यसपछि उनी उज्वेकिस्तानमा हुने संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को सम्मेलनमा सहभागी हुनेछन्। यो सम्मेलनमा उज्वेकिस्तान, काजकस्तान, किर्गिस्तान, ताजकिस्तानका साथै इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन्।
सीले सन् २०२० को जनवरीमा वुहानमा लकडाउन सुरु हुनुभन्दा दुई दिन पहिला म्यानमार भ्रमण गरेका थिए। त्यसयता उनी कुनै पनि विदेश भ्रमणमा गएका थिएनन्।
Shares
प्रतिक्रिया