अमेरिकाले पाकिस्तानलाई करिब ४५ करोड डलरको सैन्य सामग्री बेच्ने तयारी गरेको छ। अमेरिकाबाटै किनेको एफ–१६ लडाकु विमानहरुको सञ्चालनमा सहयोग पुग्नेगरी ती सामग्री बेच्न बाइडेन प्रशासनले अनुमति दिएको हो।
सफल भए यो चार वर्षमा अमेरिकाले पाकिस्तानलाई दिन लागेको पहिलो सैन्य सहयोग बन्नेछ। २०१८ मा डोनाल्ड ट्रम्पले पाकिस्तानलाई दिन लागिएको २ अर्ब डलरको सहयोग रोक्का गरेका थिए।
बुधबार अमेरिकी विदेश मन्त्रालयले संसदलाई गराएको जानकारीअनुसार वर्तमान र भविष्यमा आतंकवादविरुद्ध लड्ने पाकिस्तानको क्षमता कायम राख्न यो बिक्रीका लागि अनुमति दिइएको हो।
सो जानकारीअनुसार नयाँ क्षमता, हतियार वा गोलाबारुद बेच्न लागिएको होइन। पाकिस्तानसँग रहेका एफ–१६ विमानको मर्मतका लागि आवश्यक उपकरण र त्यसलाई चाहिने हतियार दिन लागिएको हो।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रस्तावित बिक्रीबाट अमेरिकाको विदेश नीति र सुरक्षा लक्ष्य प्राप्त हुने जनाएको छ। एजेन्सी
Shares

प्रतिक्रिया