ग्लोबल


युद्ध सुरु भएदेखि स्थगित इरानी संसद् बैठक पुनः सुरु, हर्मुजसम्बन्धी विधेयक दर्ता

युद्ध सुरु भएदेखि स्थगित इरानी संसद् बैठक पुनः सुरु, हर्मुजसम्बन्धी विधेयक दर्ता

नेपालखबर
असार ३०, २०८३ मंगलबार २१:५३, काठमाडौँ

हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनका विषयमा लिएर अमेरिका–इरानबिच तनाव चुलिरहेका बेला इरानी संसद्‌मा उक्त रणनीतिक समुद्री मार्गको सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विधेयक दर्ता गरिएको छ।

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजीले यो विधेयकलाई देशको ‘रेड लाइन’ संरक्षणतर्फको पहिलो कदम भएको बताएका छन्।

अजिजीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले ड्रोन प्रहार गरेपछि ‘हर्मुज जलघाँटी र पर्सियन खाडीको सुरक्षा तथा दिगो प्रगतिका लागि रणनीतिक कार्य’ सम्बन्धी विधेयक औपचारिक रूपमा संसद्‌मा दर्ता गरिएको जानकारी दिए।

उनले विशेषगरी हर्मुज जलघाँटीको व्यवस्थापनका विषयमा इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पार्दै आवश्यक परे थप कदम पनि चालिने बताए।

हर्मुज जलघाँटीको व्यवस्थापनका विषयमा गत सातादेखि अमेरिका र इरानबिच पुनः तनाव बढेको छ। यसले गत महिना मध्यपूर्वको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको रूपरेखा सम्झौताको भविष्यसमेत अन्योलमा पारेको छ।

इरानले हर्मुज जलघाँटीको निगरानी तथा व्यवस्थापन आफ्नै नियन्त्रणमा हुनुपर्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने अडान राखेको छ। तर अमेरिकाले उक्त प्रस्तावलाई अन्तर्राष्ट्रिय समुद्री कानुनविपरीत भन्दै अस्वीकार गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाले हर्मुज जलघाँटीको सुरक्षा जिम्मेवारी लिएको, इरानी बन्दरगाहमा पुनः नाकाबन्दी लागु गरिएको तथा जलमार्ग प्रयोग गर्ने कार्गोमा २० प्रतिशत शुल्क लगाइने घोषणा गरेका छन्। 

यसअघि अमेरिका–इरानबिच स्थायी शान्ति सम्झौता गर्ने उद्देश्यले वार्ता चलिरहेका बेला इरानले जलघाँटी पुनः खुला गरेको थियो। तर आइतबार तेहरानले उक्त मार्ग पुनः बन्द गरिएको घोषणा गरेको छ। 

फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएपछि स्थगित इरानी संसद्को बैठक सोमबार पुनः सुरु भएको हो।

संसद्को नेतृत्व मोहम्मद बाघेर गालिबफले गरिरहेका छन्। उनी अमेरिका–इरान वार्ताका प्रमुख वार्ताकारसमेत हुन्, जसका कारण पछिल्ला महिनाहरूमा उनी राजनीतिक बहसको केन्द्रमा छन्। 

यद्यपि संसद्का धेरै सदस्यले अमेरिकासँगको वार्ताप्रति असहमति जनाइरहेका छन्। उनीहरूले वासिङ्टनसँग भएको समझदारीपत्रमा संसद्को भूमिका नरहेको भन्दै आलोचना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad