जिल्ला प्रहरी कार्यालय कास्कीमा चालु आर्थिक वर्षको हालसम्म साइबर अपराधका २ सय १३ वटा उजुरी परेका छन्। तीमध्ये पीडित महिलाको संख्या १ सय २० रहेको छ। यता,अनलाइनमार्फत् विभिन्न प्रकृतिका ठगीका ६ सय ७ वटा उजुरी परेका छन्। त्यसमा १९ करोड १९ लाख ५० हजार रुपैयाँभन्दा बढी ठगीको दाबी गरिएको छ।
प्रहरीले यस्ता उजुरीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गर्छ। जसमा कसुर प्रमाणित हुँदा ३ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैदको व्यवस्था छ। ओटीपी मागेर ठूलै रकम ठगी गर्नेहरूलाई चाहिँ प्रहरीले ठगी मुद्दामै कारबाही अगाडि बढाउँदै आएको छ।
तर, सामाजिक सञ्जालबाट हुने ठगीको अनुसन्धान गर्न प्रहरीलाई सजिलो छैन। नेपालमा टिकटक मात्र हाल दर्तामा रहेको छ। फेसबुकदेखि टेलिग्राम, एक्स, डिस्कर्ड र अन्य खेलसम्बन्धी एप्सहरू पनि दर्तामा छैनन्। त्यहाँबाट हुने ठगी, यौन उत्पीडन, बालबालिकालाई कुलतमा लगाउने प्रवृत्ति बढ्दो छ।
नक्कली फेसबुक र एक्स आइडीबाट हुने धन्दा डरलाग्दो छ। चिठ्ठा परेको, अनलाइन सपिङ गराउने, विदेशबाट पठाएको पार्सल भन्सारमा रोकियो भन्नेजस्ता बहाना बनाएर ठगी गर्ने गिरोहको चंगुलमा मै हुँ भन्नेहरू पनि फसेका छन्।
‘भन्न त नमिल्ला तर यहाँ नपढेकाभन्दा पढेका मान्छे बढी फसेका छन्,’सोमबार पोखरामा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले भने,‘फसिनुको एउटै कारण भनेको लोभ हो। कतिसम्म भने आफूले नाफाको काम गर्न लागेको कुरा छिमेकीलाई पनि भनिँदैन। किनकि, मान्छेलाई छिमेकी धनी हुन्छ कि भन्ने डर छ। छिमेकीलाई भने त उसले राम्रै सुझाव दिन्थ्यो होला नि।’
उनका अनुसार यसरी पैसा गुमाउनेमा क्याम्पसका प्राध्यापकदेखि कर्मचारीसम्म रहेका छन्। व्यापारीहरू पनि ठगिएका उजुरी आउने गरेको उनले सुनाए।
उनी पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा जेसिजले आयोजना गरेको अनलाइन स्क्याम तथा विभिन्न ठगीका प्रवृत्ति र त्यसबाट जोगिन अपनाउनुपर्ने सचेतनाबारे बोल्दै थिए।
एसपी कार्कीका अनुसार व्यक्तिका गोप्य फोटो र भिडिओ सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याउने र पटक–पटक पैसा असुल्ने प्रवृत्ति पनि उत्तिकै बढ्दो छ। त्यस्ता अपराध भने प्रहरीकहाँ कम आउने उनले बताए।
‘सकेसम्म मागेजति पैसा दिनुहुन्छ। अन्तिममा ठूलै रकम दिनुपर्ने भयो भनेमात्र हामीकहाँ उजुरी लिएर आउनुहुन्छ। यस्तोमा देशका मै हुँ भन्ने मान्छेहरू फसेका छन्,’उनले भने,‘ नेपालको जनसंख्या करिब ३ करोड छ। तर, यहाँ नेपाल टेलिकम र एनसेलको सिम लिनेको संख्या ३ करोड ११ लाख ३३ हजार रहेको छ। अर्थात्, एकभन्दा बढी मोबाइल हुनेको संख्या बढी छ। र, मोबाइलबाटै सबै ठगी धन्दा भइरहेको छ।’
अनलाइनबाट डर देखाउनु वा धम्क्याउने‘ साइबर बुलिङ’, कसैको चरित्र हत्या गरिदिने, अपहरण गर्ने, मानव बेचविखन गर्ने, गलत सूचना फैलाउने प्रवृत्ति कम गर्न प्रहरीलाई नै हम्महम्मे परेको एसपी कार्कीको भनाइ छ।
‘कतिपय अवस्थामा ती प्रमाण जुटाउन फेसबुक वा एक्सको कार्यालयको सहयोग चाहिन्छ तर हामी त्यहाँसम्म पुग्न कठीन छ,’एसपी कार्की भन्छन्,‘हामीले सामाजिक सञ्जाल नियमन गर्नुपर्छ भन्ने आवाज १० वर्षदेखि उठाउँदै आएका छौँ। अब त अपराध अनुसन्धानको यो काम प्रहरीको हातबाट फुस्कनेजस्तो पो हुन लागेको छ। यसले समाजलाई कहाँ पुर्याउला भन्ने चिन्ता छ।’
सो कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले अनलाइन ठगीबाट जोगिन प्रहरी–समुदाय हातेमालो र सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिए।
पोखरा जेसिजका अध्यक्ष सुमन पहारीले लोभमा नफस्न र अनलाइन ठगीबाट जोखिन आफ्ना सूचनाहरु जोगाउन आग्रह गरे।


Shares

प्रतिक्रिया