म्याग्दीको बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो।
नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले ८ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए।
नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।
समीर र यास्मिनका आमा मनिरजा नेपाली हुन् भने उनका श्रीमान् सलिम खान भारत कलकत्ताका हुन्। यद्यपि सलिमले भारतको नागरिकता त्यागिसकेका छन्।
३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा शृंगार व्यवसाय गरिरहेकी छन्।
उनले विसं २०५२ र २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदानसमेत गरिसकेको बताए।
समीर र यास्मिनको जन्मदर्ता साविक अर्थुङ्गे गाविसमा छ।
दुवैले उच्च शिक्षा हासिल गरे पनि यतिन्जेल नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको गुनसो गरे।
नागरिकता पाएपछि बल्ल नागरिक भएको महसुस गरेको समीर र यास्मिनको प्रतिक्रिया छ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो।
यसअघि पुस २९ गते मालिका गाउँपालिका-५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई म्याग्दीमै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो। रासस
Shares

प्रतिक्रिया