गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने ‘मौलिक (कोसेली) घर’ को जग हालिएको छ।
सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा कोसेलीघरको जगमा ढुंगा हालेका हुन्।
कोसेलीघर प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण,अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनका निम्ति भएको उनको भनाइ छ। पर्यटकको पोखरा बसाइ लम्ब्याउन पनि कोसेलीघर सहायक हुने उनले जिकिर गरे। अहिले पोखरामा पर्यटकको बसाइ औषत साढे २ दिनमात्र रहेको छ।
सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले कोसेलीघर हराउँदै गएको मौलिक परम्परा, रीतिरिवाज र कलाको पुनर्जीवनमा सहायक हुने बताए।

मन्त्री थापाका अनुसार गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत निर्माणाधीन कोसेली घरले प्रदेशका ग्रामीण बस्तीमा प्रचलित कला, शिल्प र वास्तुकलाको रूप झल्काउनेछ। लोपोन्मुख कला र शैलीलाई जगेर्ना गर्दै आगन्तुकलाई गण्डकी प्रदेशको मौलिक वास्तुकला र जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यस्वरुप उक्त भवनको निर्माण गर्न लागिएको हो।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजनाअन्तर्गत सञ्चालन भइरहेको परियोजनाको कुल लागत २ करोड ८३ लाख २७ हजार ९३२ रुपैयाँ रहेको र ठेक्का सम्झौता चाहिँ १ करोड ८५ लाख ८८ हजार २६४ रुपैयाँमा भएको जानकारी दिए। कोसेलीघरको निर्माण आगामी असार मसान्तसम्म सक्नेगरी टुडे बिल्डर्ससँग सम्झौता भएको उनको भनाइ छ।
पोखरामा हाल रहेको क्षेत्रीय संग्रहालय २०४१ माघ २३ गते बनेको हो । संग्रहालयले प्रदेशका विभिन्न जातजाति र समुदायका मौलिक संस्कार, रहनसहन, भेषभूषा, खानपान, परम्परागत उपकरण र लोकजीवन झल्काउने सामग्रीहरू संकलन, अभिलेखीकरण र प्रदर्शन गर्दै आएको संग्रहालय प्रमुख करुणा राईको भनाइ छ।
Shares

प्रतिक्रिया