गण्डकी


रूखको ठुटोबाट निरन्तर पानीको धारा, स्थानीय परे आश्चर्यमा

रूखको ठुटोबाट निरन्तर पानीको धारा, स्थानीय परे आश्चर्यमा

हरिप्रसाद बाँस्तोला/रासस
चैत २३, २०८१ शनिबार २२:३२, गण्डकी

कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन्। गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन्। 

‘रूखको ठुटोबाट निरन्तर पानीका धारा छुटेका छन्, पछिल्लो समयमा ठाउँठाउँबाट यो दृश्य हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ। यो कुरा सुन्दा अनौठो लागे पनि तालबेँसीमा यसले चर्चा पाइरहेको छ’, स्थानीय विश्क गुरुङले भने। तलको पानी माथितिर बग्दैन भन्ने परम्परागत उक्ति र सत्यतालाई पनि यो दृश्यले चुनौती दिएको उनको भनाइ छ। 

रुपातालको बाँध निर्माण गरी तालको क्षेत्रफललाई विस्तार गर्ने क्रममा माटो निकाल्ने क्रममा अचानक डोजरको वकेट अड्किएको बताउँदै अर्को डोजर प्रयोग गर्दा पनि उक्त वस्तु ननिस्किएर वकेटको दाँत भाँचिएको जानकारी गुरुङले दिए। उनका अनुसार दुईवटा डोजरको सहायताले पनि जमिनमुनी लुकेको वस्तु निकाल्न नसकेपछि आसपासको माटो निकाल्दै जाँदा रूखको ठुटो भेटिएको थियो।

उक्त ठुटोबाट पानीका धारा झरिरहेको दृश्यले सबैलाई अचम्म पारेको गुरुङको भनाइ छ। सो स्थानमा अन्य रूखका ठुटोसमेत रहेकाले भुकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्का कारण यहाँका वन, जङ्गल पुरिएको हुनसक्ने अनुमान उनले गरे। 

‘उभिएको रूखको ठुटोको माथिल्लो भागको उत्तर र दक्षिणतर्फबाट पानीका धारा छुटेको दृश्य सामाजिक सञ्जालमा देखिन थालेपछि धार्मिक विश्वासका कारण दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ’, धार्मिक क्षेत्र संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका गुरुङले भने, ‘अहिले नेपालका अधिकांश जिल्लाका मानिसका साथै विदेशी पर्यटकसमेत अनौठो दृश्यावलोकन र धाराको पानीले स्नान गर्न आउने गरेका छन्।’

सो स्थानमा यही चैत १९ गतेका दिन रुद्री पूजासहित विभिन्न क्षेत्रका धामी झाँक्री राखिएको बताउँदै माता काम्दा उनीहरूले शिव भगवान्, नागदेवता र जलदेवीको बासस्थान बताउने गरेको उनले जानकारी दिए। दर्शक गर्न आउनेको घुइँचो बढ्न थालेपछि ठुटोको माथिल्लो धारामा पानी केही कम हुँदै गएको उनका भनाइ छ। 

यहाँ विभिन्न क्षेत्रका १५ जना भूगर्भविद् र संस्कृतिविज्ञ आएर स्थलगत अध्ययन गर्दा ठुटोबाट पानी आउनुको कारण रूखको प्रजाति र कति वर्ष पुरानो भन्ने तथ्यमा स्पष्ट हुने बताएको गुरुङले सुनाए। 

स्थानीय ७६ वर्षीया सुनमाया परियारका अनुसार यस स्थानमा पहिला पानीको मूल थियो। ‘आसपासका बासिन्दा तथा गाईवस्तु चराउन आउँदा यहाँ पानी खाने गर्दथे। खेतको गरामा तलबाट भूलभूल गरेर पानी निस्कने गरेकाले कुवालाई गाउँरी मूल भन्ने गरिन्थ्यो’, उनले थपिन्, ‘बाह्रै महिना पानी आउने सो कुवाको वरपर प्रशस्त नाग देखिने गर्दथे। ती नागले कसैलाई पनि टोकेको जानकारी छैन।’ 

ठुटोबाट निस्किएका पानीका धारामा प्रत्येक दश मिनेटको अन्तरालमा पानीको बहाव घट्ने र बढ्ने गरेको बताउँदै यसले ढोरवाराही लहरीको जस्तै झल्को दिने गरेको जानकारी संरक्षण समितिका सचिव महेश थापाले दिए। 

आफूले ठुटोको माथिल्लो भागमा टेकेर झण्डा राख्दा दाहिने खुट्टा दुखेर रातभरि सुत्न नसकेको बताउँदै उनले भोलिपल्ट बिहान उक्त स्थानमा पुगेर क्षमा पूजा गरेपछि आराम भएकाले यस क्षेत्रमा दैविकशक्ति रहेको विश्वास गरिएको अनुभव सुनाए।

थापाका अनुसार गत फागुन १४ गते शिवरात्रिका दिनेदेखि आजको दिनसम्म दर्शक आउने क्रम जारी छ। पछिल्लो समय दैनिक सात सयदेखि एक हजारसम्मले पानीको धाराको दर्शन गर्ने र ठुटोबाट निस्केको पानीले स्नान गर्ने गरेका उनले जानकारी दिए। ‘यहाँ आउने दर्शकमध्ये आजसम्म एक सयभन्दा बढीले आफूलाई देवदेवी चढेको भन्दै वर्षौँदेखि खोजेको स्थान पत्ता लागेको बताउने गरेका छन्’, उनले भने। 

यस क्षेत्रको संरक्षणका लागि रुपा गाउँपािलका र पोखरा-३१ ले चासो देखाएर उक्त ठुटोलाई तारवारले घेरिएको छ। दर्शनार्थीलाई जुत्ताचप्पल बाहिर राखेर भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको सचिव थापाले बताए। उनका अनुसार यहाँ दानपेटीका राखिएको छ भने दर्शकले चढाएको दानबाट हालसम्म रु ८५ हजार सङ्कलन भएको छ। 

यस क्षेत्रको स्थलगत अध्ययन गरेका भूगर्भविद् र संस्कृतविज्ञको भनाइअनुसार उक्त रूख लगभग दुई सय वर्ष पुरानो जामुनको भएको अनुमान गरिएको छ। ठुटोबाट आएको धाराको पानी सिधैँ पिउन सकिने प्रयोगशालाको रिपोर्टले देखाएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले राससलाई जानकारी दिए।

आगामी वैशाखसम्म पानीको अवस्था हेरेर यसलाई ऐतिहासिक एवं धार्मिक क्षेत्रका रूपमा विकास गरिने बताउँदै उनले चिसापानी देवी, कोटकालीका, वेगनासकोट, हङ्सपुरकोट, हात्तिमैतालगायत धार्मिक क्षेत्रको सङ्गममा रहेको यो क्षेत्रलाई पूर्णमोक्ष जलदेवीको रूपमा विकास गर्ने योजना रहेको सुनाए। 

अध्यक्ष ओझाले गुरुयोजना बनाएर ऐतिहासिक, प्राचीन एवं धार्मिक क्षेत्रका रूपमा विकास गरेमा पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवर्द्धनमा समेत यसले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। ‘तालमा पानीको सतह बढ्दा पनि रूखको ठुटो र यहाँबाट आउने पानीलाई सुरक्षित राख्नेगरी व्यवस्था मिलाउनु अपरिहार्य छ। यस्तै धार्मिक क्षेत्र भारतको हरिद्वारमा समेत देख्न सकिने भएको यसको विस्तृत अध्ययन गरी संरक्षण र प्रवर्द्धन गर्ने योजनामा छौँ’, उनले भने। 

रूखको ठुटोेमा भूमिगत पानीको मूल जोडिएको हुनसक्ने भएपनि ठुटोेको टुप्पाबाट पानीको धारा आउनु अनौठो भएको भूगोलविद् प्राडा कृष्ण केसीले धारणा राखे। ‘यसको वास्तविकता पत्ता लगाउन थप स्थलगत अध्ययन तथा अनुसन्धान आवश्यक छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad