ad ad

गण्डकी


विश्व बैंकको सहयोगमा पोखरा भित्रिने वैकल्पिक मार्गअन्तर्गतको सडक बन्दै

विश्व बैंकको सहयोगमा पोखरा भित्रिने वैकल्पिक मार्गअन्तर्गतको सडक बन्दै

नेपालखबर
असार २५, २०८१ मंगलबार २१:५, पोखरा

तनहुँबाट पोखरा आउनको लागि वैकल्पिक सडक निर्माण थालिएको छ। कास्की र तनहुँको सीमा कोत्रेबाट सोझै पोखराको विरौटा आइपुग्ने वैकल्पिक खण्डअन्तर्गतको १२.४४ किलोमिटर सडकको मंगलबार शिलान्यास गरिएको छ।

दोविल्ला- बाघमारा- तिक्लाङ्- बडहरकोट- लामगाडी- चापलाङ- उपल्लो पुडिँटार- तल्लो पुँडीटार-झिगटे (जनजागृति मावि) तगारेगौडा- तल्लो गगनगौंडा सडकअन्तर्गत कालिकास्थान-पुँडीटार- लामेआहाल हुँदै आउने सो सडक निर्माणमा विश्व बैंकको सहयोग रहेको छ।

बैंकको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा निर्माण हुने सडकको सेक्सन एक र दुई गरी दुईवटा खण्डमा काम हुनेछ। सडकको पहिलो सेक्सनमा पोखरा ३३ को कार्यालयदेखि उपल्लो पुँडीटारसम्म ९.६२७ किमी र दोस्रो सेक्सनमा पहिलो सेक्सनको जक्सनदेखि तल्लो गगनगौंडा (पृथ्वी राजमार्ग) सम्म २.८१३ किमी सडक निर्माण हुनेछ।

सो सडक खण्ड ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ। सडकको दायाँबायाँ ड्रेनसहितको २-२ मिटरको फुट ट्रयाक हुनेछ। सडकको निर्माण कम्पनी आसिस निर्माण सेवा प्रालि भरतपुरसँग सम्झौता भएको छ। ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो।

सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विकास साझेदार विश्व बैंकका एनइयुजिआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले सयुँक्त रूपमा शिलान्यास गरेका हुन्।

सडकको शिलान्यास गर्दै नगरप्रमुख आचार्यले स्थानीय अवरोधका कारण बाटो नबन्ने अवस्थाको सृजना हुन नदिने प्रतिबद्धता जाहेर गरे।  

सहरी विकास मन्त्रालयका सचिव गेलालले सडक निर्माण कार्य तोकिए कै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे।  पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सडकको गुणस्तरीय निर्माणमा जोड दिए।

विश्व बैंकका टास्क टिम लिडर आवेवाओले समय छोटो समय भएकाले तीव्र गतिमा काम अघि बढाउन भने। पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले वडामा निर्माण हुन लागेको सडक निर्माण कार्यको निरन्तर निगरानी गर्ने बताए।

यो बाटोको अलावा, कालिकास्थानदेखि दोबिल्लासम्मको  निर्माणाधीन ५ किलोमिटर बाटो सम्पन्न हुँदा तथा दोबिल्लादेखि महतगौंडा हुँदै विरौटासम्मको २ किलोमिटरको पनि स्तरोन्नति भएपछि यो साँच्चिकै पोखरा आउने वैकल्पिक बाटो हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .