कास्की प्रहरीले पोखरा ९, न्यूरोडमा रहेको विन्दवासिनी वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ।
बचतकर्ताको करिब ८ करोड रुपैयाँ हिनामिना गरी सो सहकारीका संचालकहरु फरार रहेका थिए।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले २०८० साल फागुन २० गते प्रहरीलाई बुझाएको प्रतिवेदनमा दोषी ठहर गरिएकामध्ये सहकारीका पूर्वसंचालक समितिका सचिव किरण कपाली र पूर्वलेखा समिति संयोजक बुद्धिसागर ढकाललाई प्रहरीले पक्राउ गरेको हो।
दुवैलाई उनीहरु बस्दै आएको पोखरा १७, विरौटाबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
कास्की प्रहरीले सो सहकारी घोटाला काण्डको प्रतिवेदन बुझेसँगै नै सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याललाई पक्राउ गरेको थियो।
उनीहरु अहिले कास्की कारागारमा रहेका छन्। सहकारीका संचालकहरुले बचतकर्ताको ७ करोड, ६९ लाख ५९ हजार ८६४ रुपैयाँ हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको निष्कर्ष छ।
पोखरासहित गण्डकीका ८ वटा सहकारीबाट बचतकर्ताको अरवौं रकम अपचलन भएको छ। गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा मात्रै बचतकर्ताको करिब १ अर्ब ३३ करोड रुपैयाँ डुबेको छ।
Shares
प्रतिक्रिया