गण्डकी


कक्षाकोठाभित्र विद्यार्थीका हातमा सालका पात र बाँसका सिन्का

कक्षाकोठाभित्र विद्यार्थीका हातमा सालका पात र बाँसका सिन्का

नेपालखबर
फागुन ३०, २०८० बुधबार १४:१, बलेवा (बागलुङ)

सधैँजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पसिन्। न्यु एभरेस्ट एकेडेमीको नर्सरी कक्षाकी शिक्षक श्रेष्ठ सोमबार यसरी कक्षा ७ मा प्रवेश गरेकी हुन्। 

सधैँजसो दिनभर कपी र किताब बेन्चमा फिँजाएर कलम समाउने विद्यार्थी पनि सोमबार फरक भूमिकामा देखिए। सबै विद्यार्थी कक्षाकोठाको भुइँमा बसे। उनीहरुका अघि सालका पात र बाँसका सिन्का थिए।

बागलुङ नगरपालिका-१ रामरेखामा रहेको न्यु एभरेस्ट एकेडेमीले उनीहरूलाई व्यावहारिक सीप सिकाउने प्रयास गर्दै थियो।

विद्यालयले विद्यार्थीलाई दुनाटपरी गाँस्न सिकाएको हो। सरकारले सार्वजनिक बिदा दिए पनि विद्यार्थीलाई जीवनोपयोगी सीप तथा व्यावहारिक शिक्षा दिन दुनाटपरी गाँस्न सिकाइएको विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीले बताए। 

शिक्षिकाहरूका बीचमा बसेर पात गाँस्दै गरेकी कक्षा १० की छात्रा पूजा सापकोटा र कक्षा ९ की रोशनी जिसीले पूजाआजा र अनुष्ठानमा चाहिने दुनाटपरी गाँस्न सक्ने भएको बताए।

विद्यार्थीलाई आवश्यक पर्ने ज्ञान, सीप र सांस्कृतिक पहिचान झल्किने कार्यक्रमले उनीहरूलाई सामाजिक बन्न प्रेरित गराउनाका साथै सकारात्मक सोचको विकास गराउने शिक्षिकाको ठम्याइ छ। संस्कृति, परम्पराको जर्गेना गर्दै सीप सिकाउने उद्देश्यले विद्यालय उमेरका बालबालिकालाई मौलिक कार्यक्रम आयोजना गरिएको शिक्षिका जुना हमालले बताइन्। 

‘विद्यालयले पात र सिन्का उपलब्ध गराएको छ। अनुभवी शिक्षिकाले सहजीकरण गर्नुभएको छ। विद्यार्थीहरू सिक्न निकै उत्साहित छन्’, प्रधानाध्यापक अधिकारीले भने, ‘हरेक घरमा हुने पूजाआजालगायत धार्मिक काममा दुनाटपरीको खाँचो पर्दछ। अहिलेका नयाँ पुस्तालाई यस्ता ज्ञान सिकाउन सके हाम्रा मौलिक संस्कार र संस्कृति हराउँदै जाने खतरा हुँदैन।’

व्यावहारिक सीप विकासका लागि पहिलो चरणमा दुनाटपरी बनाउन सिकाएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।

कपासका बत्ती कात्न, चोया काढ्न, बाँसबाट तयार हुने सामग्री निर्माण गर्न सिकाउने र क्रमशः प्रतियोगिताका रुपमा सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको अधिकारीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .