गण्डकी


जसले बाख्रापालनबाट कोरियाको कमाइलाई माथ दिन्छन्!

जसले बाख्रापालनबाट कोरियाको कमाइलाई माथ दिन्छन्!

नेपालखबर
असार २४, २०८३ बुधबार २०:३९, पोखरा

बागलुङको गलकोट नगरपालिका १,दुदिलाभाटीका गमबहादुर कुँवर गण्डकी प्रदेशको सवोत्कृष्ट कृषक घोषित भएका छन्।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग, रोजगारी सिर्जना, आर्थिक आम्दानी, नमूना कृषि फर्मको विकास, उत्पादनको बजारीकरण, व्यवसायको दिगोपना र गरिएको लगानीलाई आधार बनाउँदै कुँवरलाई सर्वोत्कृष्ट कृषकको सम्मान गरेको हो। 

कुँवरले सहरा कृषि फर्ममार्फत् खेतीबाली र वस्तु – अकबरे खुर्सानी र बाख्रापालनमा आफूलाई उत्कृष्ट सावित गरेका छन्। उनलाई प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम कार्कीले नगद ५० रुपैयाँसहित सम्मान गरेका हुन्। वैदेशिक रोजगारको क्रममा दक्षिण कोरिया पुगेका उनी त्यहाँबाट फर्केपछि पशुपालनमा मोडिएका थिए।

५ लाखको लगानीमा २०७४ सालमा उनले सुरु गरेको बाख्रापालन अहिले प्रदेशकै उत्कृष्ट बनेको छ। उनले बोयर र स्थानीय जातका ३५० वटाभन्दा बढी बाख्रा पालेका छन्। स्थानीय ६ युवालाई रोजगारी दिएका छन् र बाख्रापालन र घाँसको लागि करिब ५ सय रोपनी जग्गा उपयोग गर्ने हैसियत बनाएका छन्। उनी वार्षिक ५० लाख रुपैयाँ बचत गर्छन्।

मन्त्रालयले नवलपुरको कावासोती नपा–१०, अमलटारीमा मौलाकाली कृषि फर्ममार्फत् केरा खेती गर्दै आएका निर्मल भट्टराई,पोखरा १४, चाउथेमा तरकारी खेती गरिरहेका रोशन एण्ड रोहित कृषि फर्मका संचालनक रमेश खनाल, तनहुँको व्यास १० मा दाजुभाई गाई फर्ममार्फत् दूध उत्पादन गर्दै आइरहेका रमेश तिमिल्सिना, स्याङ्जाको भिरकोट नगरपालिका ११,जिमिरेमा खिलुङ कालिनका अर्गानिक कृषि फर्म संचालन गर्दै सुन्तला खेती गरिरहेका शालिग्राम अर्याल र मुस्ताङको घरपझोङ गाउँपालिका ४,छिरिङमा निलगिरी पशुपन्छी तथा कृषि व्यवसायअन्तर्गत याकपालन गर्दै आएका भुपेन्द्र शेरचनलाई पनि सम्मानित गरेको छ। उनीहरुलाई जनही नगद ३२ हजार नगदससहित सम्मानपत्र प्रदान गरियो। 

कृषि क्षेत्रमा समर्पित कृषकहरूको योगदानको कदर गर्दै उनीहरुको मनोबल अभिवृद्धि गर्नु तथा कृषि पेसालाई थप सम्मानित, व्यावसायिक, मर्यादित र आकर्षक बनाउन कृषकलाई सम्मान गरिएको मन्त्रालयकी सचिव डा. प्रेरणा सेडाइँ भट्टराईले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad