ad ad

गण्डकी


गण्डकीमा ३ सिटका लागि ८ जना भिड्दै, कोसँग कति मत?

गण्डकीमा ३ सिटका लागि ८ जना भिड्दै, कोसँग कति मत?

वाशुदेव मिश्र
माघ ११, २०८० बिहिबार ८:२६, पोखरा

आज राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा ३ सदस्यका लागि मतदान हुँदै छ।

मतदानको सम्पूर्ण बन्दोबस्त भइसकेको र आज बिहान ९ बजे पोखरामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान सुरु हुने कार्यालयका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिए।

उनका अनुसार मतदान दिउँसो ३ बजेसम्म चल्नेछ र मतदान सकिनासाथ गणना सुरु हुनेछ। गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १७० गरी कूल २३० जना मतदाता छन्। 

गण्डकीमा जम्मा ३ सिटका लागि ८ उम्मेदवार चुनावी मैदानमा छन्। सत्ता गठबन्धनतर्फ कांग्रेसले खुला (अन्य) तर्फ गोरखाका किरणबाबु श्रेष्ठ र अपाङ्गताअल्पसंख्यकतर्फ तनहुँका पदमलाल परियारलाई उम्मेदवार बनाएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली,अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन्। 

गण्डकीमा दुई प्रदेश सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी दिएका छन्। कोशीमा राप्रपा र एमालेबीच चुनावी तालमेल भए पनि गण्डकीमा त्यस्तो भएन। यहाँ राप्रपा एक्लै प्रतिस्पर्धामा उत्रिएको राप्रपाका कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए। 

आज निर्वाचित हुनेहरुले २०७४ सालमा राष्ट्रिय सभा प्रवेश गरेका अध्यक्षसमेत गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको ठाउँ लिनेछन्। तिमिल्सिना र गुरुङ एमालेबाट र पन्थ कांग्रेसबाट उम्मेदवार बन्दै राष्ट्रिय सभा पुगेका थिए।

एकल संक्रमणीय मत प्रणालीअनुसार भएको २०७४ को राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित यी तीन जनाले गोलाप्रथा गर्दा ६ वर्षे कार्यकाल प्राप्त गरेका थिए। जुन कार्यकाल फागुन २० गते सकिँदै छ। 

गठबन्धनका उम्मेदवार नै बलिया
निर्वाचनमा ६० जना प्रदेशसभा सदस्य र ८५  वटा स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी १७० जना मतदाता छन्। तीमध्ये एमालेबाट निर्वाचित बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारी घोटाला काण्डपछि फरार छन्। सम्भवतः उनी मतदानमा सामेल हुने छैनन्। 

२०७८ को जनगणनापछि प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ बाट बढेर ५३ कायम गरिएको छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ पुगेको छ। देवकुमार पनि जोड्दा कूल मतभार ६ हजार १४० हुन्छ। 

तीमध्ये सत्ता गठबन्धनमा रहेको कांग्रेसका प्रदेशसभामा २७ सांसद, स्थानीय १५ नगरप्रमुख, ११ उपप्रमुख, २१ गाउँपालिकाका अध्यक्ष र २० जना उपप्रमुख छन्। २७ प्रदेशसभा सदस्यको मतभार १ हजार ४३१ हुन्छ। स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १ हजार २७३ हुन आउँछ। दुवै जोड्दा राष्ट्रिय सभामा कांग्रेसको मतभार २ हजार ७०४ हुन्छ।

गठबन्धनको अर्को दल माओवादी केन्द्रका तर्फबाट गण्डकीमा ८ प्रदेशसभा सदस्य छन् । उनीहरूको मतभार ४२४ हुन आउँछ। माओवादीबाट गण्डकीमा दुई नगरप्रमुख, सात उपप्रमुख, नौ गाउँपालिकाका अध्यक्ष र १२ उपाध्यक्ष छन्। उनीहरूको मतभार ५७० हुन आउँछ। प्रदेश र स्थानीय तह गरी माओवादीसँग कूल ९९४ मतभार छ। 

गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीसँग ७२ मतभार छ। यो मतभार निर्विरोध निर्वाचित भई सो पार्टीमा प्रवेश गरेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) तथा पोखरा महानगरका मेयर धनराज आचार्यको हो। राष्ट्रिय जनमोर्चाका तर्फबाट एक नगरप्रमुख, गाउँपालिका अध्यक्ष एक र उपाध्यक्ष पनि एक छन्। यी तीन जनप्रतिनिधिको मतभार ५७ हुन आउँछ। 

गठबन्धनमा आबद्ध यी दलहरूको मतभार जोड्दा ३ हजार ८२७ हुन आउँछ। गठबन्धनले चुनाव परिचालन समिति निर्माण गरी मत चुहिन नदिने रणनीति अख्तियार गरेको छ। चुनाव परिचालन समितिका संयोजक कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले गठबन्धनको मत यताउता नहुने दाबी गरेका छन्। उनले भनेजस्तो भए गठबन्धनका उम्मेदवार स्वतः विजयी हुनेछन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २२ जना प्रदेशसभा सदस्य छन्। एमालेका तर्फबाट स्थानीय तहमा ८ नगरप्रमुख, ९ उपप्रमुख, २७ गाउँपालिकाका अध्यक्ष र २४ उपाध्यक्ष छन्। एमालेसँग प्रदेशसभा सदस्यको १ हजार १६६ र स्थानीय तहका जनप्रतिनिधिको १ हजार २९२ मतभार छ। प्रदेशसभा सदस्य र स्थानीय तहको गरी एमालेसँग कूल २ हजार ४५८ मत हुन आउँछ। ढोरपाटन नगरपालिकाका मेयर देवकुमारको मत घटाउँदा  एमालेसँग २ हजार ४३९ मत रहन्छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तर्फबाट दुई प्रदेशसभा सदस्य छन्। उनीहरूको मतभार १०६ हुन आउँछ। गण्डकीमा मनाङ निस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङ स्वतन्त्र रूपमा निर्वाचित भएका हुन्। उनसँग १९ मतभार छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .