राजनीति


यी हुन् फागुन २० मा पदावधि सकिने राष्ट्रियसभाका २० सांसद

यी हुन् फागुन २० मा पदावधि सकिने राष्ट्रियसभाका २० सांसद

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८० बिहिबार ८:३, काठमाडौँ

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदैछ। ४० दिनपछि रिक्त हुन लागेका राष्ट्रियसभाका १९ सिटको लागि आज निर्वाचन हुँदैछ। कानुनी व्यवस्था भने पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने छ।

बिहीबार बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म हुने मतदान सकिने बित्तिकै मतगणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३-३ जना तथा कोशी, मधेश र लुम्बिनी प्रदेशबाट २-२ जना सदस्य आजको निर्वाचनबाट राष्ट्रियसभामा पुग्नेछन्। 

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिन लागेको हो। रिक्त हुन लागेका २० मध्ये १९ सिट निर्वाचन प्रक्रियाबाट परिपूर्ति गरिने छ भने १ सिट राष्टपतिले मनोनित गर्नेछन्।

१९ सिटका लागि हुन लागेको निर्वाचनमा ५१ उम्मेदवार प्रतिस्पर्धामा छन्।

आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, वाग्मतीका लागि भुटनदेवी मावि, र प्राविधिक शिक्षालय हेटौँडा, गण्डकीका लागि प्रदेश निर्वाचन कार्यालय पाल्पा, लुम्बिनीका लागि कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय, सुखेर्त र सुदूरपश्चिममा प्रदेशसभा भवन, धनगढीलाई मतदानस्थल तोकेको छ।

फागुन २० गतेदखि रिक्त हुने पद जुन समूह र प्रक्रियाबाट निर्वाचित भएको हो, सोही समूह र प्रक्रियाबाट आज १९ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुन लागेका हुन्।

फागुन २० गते एमालेबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, विमला राई पौड्याल (महिला मनोनीत), महिलाबाट दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा, अन्यबाट कुमार दसौदी, रामचन्द्र राई, भैरवकुमार श्रेष्ठ र दलितबाट नरपति लुवारको पदावधि सकिँदैछ।

कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीसहित अनिता देवकोटा (महिला), जितेन्द्रनारायण देव, प्रकाश पन्थ (अपांगता) गरी ४ जना, माओवादीबाट बिना पोखरेल (महिला), हरिराम चौधरी (अन्य), महेशकुमार महरा गरी ३ जना, एकीकृत समाजवादीबाट नन्दा चापागाईं, सिंगबहादुर विश्वकर्मा (दलित), जसपाबाट प्रमिला कुमारी (महिला) र स्वतन्त्र खिमलाल देवकोटाको पदावधि पनि फागुन २० गते सकिँदैछ।

निर्वाचनमा भाग लिन १२ राजनीतिक पार्टीले आयोगमा दल दर्ता गरेका थिए। आजको निर्वाचनमा ८ दलका ५१ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।। 

वर्तमान सत्तारुढ गठबन्धनबाट कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले साझा उम्मेदवार अघि सारेका छन्। जसमा कांग्रेसबाट १०, माओवादीबाट ६, एकीकृत समाजावादीका २ र जसपाका १ उम्मेदवार छन्। राष्ट्रपतिबाट मनोनित हुने १ सिट भने सत्ता गठबन्धनले राष्ट्रिय जनमोर्चालाई दिने सहमति गरेका छन्। 

सत्ता गठबन्धनका उम्मेदवारसँग मुख्यरुपमा एमालेका उम्मेदवारको प्रतिस्पर्धा हुँदैछ। कोसी प्रदेशमा भने एमालेले राप्रपासँग गठबन्धन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .