कोशी


आज भोट हाल्नुपर्ने गाउँपालिका अध्यक्ष थारु बेहोस, अस्पताल भर्ना

आज भोट हाल्नुपर्ने गाउँपालिका अध्यक्ष थारु बेहोस, अस्पताल भर्ना

फाइल तस्बिर : ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु


नेपालखबर
माघ ११, २०८० बिहिबार ९:१६, काठमाडौँ

कोसी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता रहेका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि अस्पताल भर्ना भएका छन्। 

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधवार साँझ बेहोस भएर ढलेका थिए।

होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि स्थानीय पारस अस्पताल लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए। 

नोबेलको भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको थप उपचार भइरहेको र चिकित्सकले अवस्था गम्भीर रहेकाे बताएका छन्।

‘पहिला ब्रेनमा रगत जमेर उहाँलाई बेलाबेला अस्पताल लानपर्ने हुन्थ्यो’, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, ‘अहिले डाक्टरले उहाँको अवस्था अलिक सिरियस भएको बताएका छन्।’

कोसीमा सत्ता गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ। थारु नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन्।

गठबन्धनले अन्यतर्फ सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ। 

कोसीमा एमाले–राप्रपाले पनि गठबन्धन गरेका छन्। जसका तर्फबाट अन्यमा राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् भने महिलातर्फ एमालेकी रुक्मिणी कोइराला छिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .