ad ad

गण्डकी


पृथ्वी राजमार्ग स्तरोन्नतिको गति बढाउन उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको माग

पृथ्वी राजमार्ग स्तरोन्नतिको गति बढाउन उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको माग

फाइल फोटो


नेपालखबर
असोज २६, २०८० शुक्रबार १५:७, काठमाडौँ

लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले पृथ्वी र सिद्धार्थ राजमार्ग स्तरोन्नतिमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूले स्तरोन्ततिमा भएको ढिलाइले लेखनाथबासीको स्वास्थ्यमा गम्भीर असर परेको पनि जिकिर गरिएका छन्।

९ जना पूर्वअध्यक्षहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै मुग्लिनदेखि पोखरासम्मको सडक स्तरोन्तति कार्यमा तीव्रता दिन ठेकेदार कम्पनी र सहजीकरणका लागि सडक डिभिजन कार्यालयसहित नेपाल सरकारसँग जोडदार माग गरेका छन्।

मुग्लिन–पोखरा सडक स्तरोन्नतिको जिम्मा दुई चिनियाँ कम्पनीले पाएका छन्। आउँदो साउनभित्र सक्नुपर्ने गरी ठेक्का लिएका ती कम्पनीहरुको काम असाध्यै सुस्त छ। राजमार्गमा स्तरोन्नतिको काम चलिरहँदा काठमाडौं–पोखराको यात्रा कष्टकर, लामो र खर्चिलो बनेको छ।

संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यसहित पूर्वअध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम जमरकट्टेल, सुमन भट्टराई, बाबुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, बलराम ढकाल र निवर्तमान अध्यक्ष छत्रधर आत्रेयद्वारा जारी विज्ञप्तिमा विजयपुर खोलामाथि रहेको पुलका कारण भएको ट्राफिक जामको समस्याप्रति पनि चिन्ता व्यक्त गरिएको छ।  

‘पुलमाथि रहेको बेली ब्रिजले अहिलेको सवारी साधनको चापलाई धान्न सकिरहेको छैन। एकतर्फी रुपले सञ्चालन हुने सो पुलकै कारण सवारी साधनहरु घण्टौंसम्म रोकिनुपर्ने हाम्रो नियति बनेको छ,’विज्ञप्तिमा भनिएको छ,‘ हामीले यसअघि पनि दैनिक हजारौं सवारी साधन आवतजावत हुने तथा पर्यटकीय नगरी पोखराको परिचयसँग जोडिएको पुलको विकल्प खोज्न सरोकारवाला निकायहरुसँग अनुरोध गरेका थियौं तर समस्या ज्यूँकात्यूँ छ।’

विज्ञप्तिमा दसैँको मुखमा नागरिकलाई सुविधा दिने गरी विजयपुरमा वैकल्पिक व्यवस्थाको माग पनि गरिएको छ।

सडकको दुरावस्थाकै कारण पोखरा आउने पर्यटक अन्यत्र मोडिएको जिकिर गर्दै विज्ञप्तिमा भनिएको छ, ‘पृथ्वी राजमार्ग निर्माण भएको यतिका वर्ष बितिसक्दा÷पोखराले बृहत स्वरुप ग्रहण गर्दा पनि एउटा पुल बन्न नसक्नु लज्जाको विषय हो। अतः हामी राजमार्गको स्तरोन्तति द्रूत गतिमा अगाडि बढाउन एवं विजयपुर खोलामाथि आधुनिक र फराकिलो पुल निर्माणको लागि संघ, प्रदेश र स्थानीय सरकारसँग जोडदार माग गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .