गण्डकी


गोकर्ण विष्ट भन्छन्, : प्यानलगत उम्मेदवारी छैन, मिडियाले प्यानल बनाइदिए

गोकर्ण विष्ट भन्छन्, : प्यानलगत उम्मेदवारी छैन, मिडियाले प्यानल बनाइदिए

नेपालखबर
असोज १८, २०८० बिहिबार १२:३९, काठमाडौँ

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीको प्रदेशगत प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताएका छन्।

उनले प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै संगठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरुले मात्रै उम्मेदवारी दिएको बताए। उनले व्यक्तिगत हिसावले आफ्ना उम्मेदवारीहरु प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने बताए।

उनले भने, ‘प्यानलगत उम्मेदवारी भएको छैन मिडियाले मात्रै प्यानल बनाइदिएको हो। यहाँ त हरेकले व्यक्तिगत हिसावले आफ्ना उम्मेदवारीहरु प्रस्तावक र समर्थकसहित दिनुभएको छ। प्यानल देखिएको छैन। व्यक्तिगत उम्मेदवार दिनुभएको छ।’

उनले सहमतिको प्रयास आफूहरुले गरेपनि अब निर्वाचनमै जाने स्थिति देखिएको बताए। उनले अहिले पार्टीभित्र वैचारिक मत भिन्नता नरहेको बताए। उनले जिम्मेवारीका बेलामा धेरै आकांक्षीहरुको बीचमा प्रतिष्पर्धा हुनेकुरा स्वभाविक भएको बताए।

‘हामीले विभिन्न रुपले सहमतिको प्रयास गरेका छौँ। अहिले हाम्रो पार्टीभित्र वैचारिक मत भिन्नता देखिँदैन। पार्टीका अध्यक्ष नै सबैको एउटा एकल ध्रुव हुनुहुन्छ। कुनैपनि प्रकारको समूह बनाउने, कित्ताकाट गर्ने स्थिति देखिँदैन’ उनले भने, ‘जिम्मेवारीका बेलामा धेरै आकांक्षीहरुको बीचमा प्रतिष्पर्धा हुने र आकांक्षीहरू पनि माथि जोडिन खोज्ने र जोड्न खोज्ने प्रवृत्तिहरु देखिन्छन्। आकंक्षी धेरै हुँदा निर्वाचनमा जानुपर्छ। अझै पनि सहमतिको लागि प्रयत्नरत छौँ।’

त्यस्तै अध्यक्ष पदका प्रत्यासी मायानाथ अधिकारीले कार्यकता र नेताहरुले नै अध्यक्षको लागि योग्य भनेपछि आफू उम्मेदवार बनेको बताए। उनले आफूले आफूलाई सहमति गर्न र नसके अर्को सबैले मान्ने व्यक्तिलाई सहमति गर्न आग्रह गरेपनि सफल हुन नसकेको बताए।

उनले सहमति गरेर अघि गए आफू पछि हट्न समेत तयार रहेको बताएपनि सफल हुन नसकेको उल्लेख गरे।

त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार नवराज शर्माले एक पूर्ण कार्यकाल संगठको नेतृत्व गर्ने चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताए। उनले यसलाई नेताहरुसँग जोडेर बुझ्न नहुने बताए। उनले सहमतिको निम्ति प्रयत्न गरेपनि सफल हुन नसकेको बताए।

अध्यक्षका प्रत्यासी शर्माले सबैको मन नमिलेसम्म सहमति हुन नसक्ने भन्दै उम्मेदवारहरुबीच चाहना व्यक्त भएको कुरालाई स्वभाविक मान्नुपर्ने बताए।

नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षका लागि शर्मा र अधिकारीको उम्मेदवारी परेको छ। हालका अध्यक्ष शर्मा र केन्द्रिय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ। मिनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उठेका छन्। सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर बिक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन्।

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन्। कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन्। १६५ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .