ad ad

गण्डकी


‘कामविहीन’ भएको भन्दै गण्डकी प्रदेशसभा बैठक स्थगित

अर्को बैठक साउन २९ मा
‘कामविहीन’ भएको भन्दै गण्डकी प्रदेशसभा बैठक स्थगित

नेपालखबर
साउन २५, २०८० बिहिबार १९:३६, पोखरा

बिहीबार एक बजेको लागि बोलाइएको बैठकमा भाग लिन गण्डकीका सभासदहरु पोखरा ३,नदीपुरमा रहेको प्रदेशसभा भवन पुगिसकेका थिए। तर, बैठक  समयमा सुरु भएन।

सांसदहरुले किन बैठक सुरु गरिएन भन्ने भेउ नपाउँदै संसद सचिवालयले एकाएक ‘कामविहीन’भएकाले बैठक आइतबारसम्मको लागि स्थगित भएको जानकारी गरायो। मंंगलबार नै संसदको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको थियो।

सो बैठकमा एमालेले विषयगत समितिका पठाइने नामहरु पेश गरिनेबारे छलफल भएको थियो। गण्डकीमा ४ वटा विषयगत समितिहरु रहेका छन्। अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानून र सामाजिक विकास तथा कृषि समितिका गठन भएकै छैन।

यसअघिको बैठकमा ती समितिमा पठाउने सदस्यको नाममात्र दिने र पछि सभापति चुन्नेबारे लगभग कुरा मिलेको कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जिकिर गरे। कार्यव्यवस्था समितिको बैठक बिहीबार पनि बसेको तर प्रमुख प्रतिपक्षी एमालेले विषयगत समितिका रहने सदस्यको नाम दिन नसकेकाले संसद बैठक अगाडि नबढेको उनले जिकिर गरे।

एमालेले यसअघि २५ गते नाम दिने बताए पनि पुनः २८ गते सदस्यको नाम दिने भनेको पनि उनको भनाइ छ।

तर, एमाले मुख्य सचेतक गोविन्दबहादुर नेपालीले भने त्यसको प्रतिवाद गरेका छन्। उनका अनुसार यसअघि नै बिहीबारको बैठकमा मुख्यमन्त्रीले सम्बोधन गर्ने र शून्य तथा विशेष समय राख्नेगरी  बैठकको कार्यसूची तय गरिएको भए पनि मुख्यमन्त्री संवोधनबाट पछि हटेको  तथा सत्तापक्षले नै बैठक स्थगित गराएको जिकिर गरे।

प्रदेशसभा सचिवालय स्रोतका अनुसार अन्तिम समयमा मुख्यमन्त्रीलाई संवोधनको लागि आग्रह पनि गरिएको थियो। सभामुख कृष्ण धितालले नै मुख्ख्यमन्त्रीसँग यो विषयमा परामर्श गरेका थिए। तर, मुख्यमन्त्रीले तयारी नपुगेको भन्दै पन्छिए।

एमाले मुख्य सचेतक नेपालीका अनुसार त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीलाई संवोधन गर्न दिने कुरा उठ्यो। तर, सत्तापक्षले प्रमुख प्रतिपक्षी दलका नेताले संवोधन गर्ने परम्परा नरहेको भन्दै सदन स्थगित गराउन उद्यत बन्यो। असार २२ गते बजेट पारित भएसँगै संसद स्थगित भएको थियो।

एमालको दुई जरुरी महत्वको प्रस्ताव
बिहीबारको लागि बोलाइएको गण्डकी प्रदेशसभा बैठक स्थगित भए पनि प्रमु्ख प्रतिपक्षी एमालेले प्रदेशसभा सचिवालयमा २ वटा जरुरी महत्वका प्रस्ताव दर्ता गराएको छ। 

एमालेकी सचेतक देवका पहारीको प्रस्तावमा सांसद कृष्ण पाठक र यशोदा रिमालको समर्थनमा संसदमा पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल आवश्यक रहेको भन्दै एउटा प्रस्ताव दर्ता भएको छ भने सांसद भीम कार्कीको प्रस्तावमा राप्रपाकी सचेतक विन्दु पौडेल र एमाले सांसद राजकुमारी भुजेलको समर्थनमा लम्पी स्किन रोग नियन्त्रणका लागि अर्को प्रस्ताव दर्ता भएको हो।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल हुनेपर्ने र नभएका चिनियाँ बैंकबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसक्ने अवस्था आउने भएकाले प्रस्ताव ल्याइएको एमालेको भनाइ छ।

‘हालसम्म भारत हुँदै उडान बाहिरिने पाँच वटा रुट खुला भए पनि नेपाल भित्रिने केवल सिमराको एउटा मात्र रुट खुल्ला छ। नेपालले कम्तिमा पनि नेपालगञ्ज, महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने नयाँ रुट लिन सकेमा पश्चिम भारत र पश्चिमतिरबाट नेपाल आउने जहाजका लागि पोखरा अन्तरराष्ट्रिय बिमान स्थल उपयुक्त हुन्छ,’प्रस्तावमा भनिएको छ।

सांसद भीम कार्कीले लम्पीस्किन नियमन्त्रणका लागि प्रदेश सरकारलाई प्रभावकारी बनाउन, लम्पीस्किन फैलिन नदिन जनचेतना बढाउन, खोपको व्यवस्था गर्न, किसानलाई क्षतिपूर्ति दिलाइ राहत उपलब्ध गराउन, बीमा कम्पनीलाई समयमै रकम उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइएको जानकारी दिए।

उनले गण्डकीका ८५ स्थानीय तहमध्ये ८२ वटामा यो रोग फैलिइसकेको र २ हजार २८४ गाईबस्तु मरेका अनि ३१ हजार ८६४ बिरामी भएकोले अवस्थाबारे गम्भीर हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .