ad ad

कारोबार


एनसेलद्वारा गत वर्ष ३३८ नयाँ मोबाइल टावर जडान

एनसेलद्वारा गत वर्ष ३३८ नयाँ मोबाइल टावर जडान

नेपालखबर
साउन २५, २०८० बिहिबार २०:४, काठमाडौँ

एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ। यी टावरहरु गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन्।

फोरजी सेवाको पहुँचबाट स्थानीयलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरू पर्दछन्।

यसरी पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गा गाउँपालिका (खोटाङ) का ग्रामिण इलाकाहरु, र इनरुवा नगरपालिकाका नयाँ स्थानहरु लगायतका ठाउँहरु पर्दछन्।

गत आवमा नै एनसेलले आफुले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न २८३ नयाँ टावरहरु जडान गरेको छ। यी मोबाइल टावरहरु सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको थियो। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेश प्रदेशलगायतका स्थानमा अधिकांश साइट जडान भएका छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘एनसेलका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नेपालभर एउटा राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु हो। हामीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले  जोडेका छौं। आफ्नो नेटवर्क मार्फत हरेक नेपालीलाई जोड्ने हाम्रो लक्ष्यमा हामी प्रतिबद्ध छौं। उच्च गुणस्तरीय आधुनिक सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरु र साझेदारहरूलाई यसको लाभ प्रदान गर्न हामी निरन्तर काम गरिहेका छौं।’

एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झण्डै १,४५० मोबाइल टावरहरुको स्तरोन्नती पनि गरेको छ। यसरी स्तरोन्नती गरिएका टावहरुहरु मध्ये ७८० भन्दा बढि विभिन्न नगरपालिकामा स्थापना गएिका टावरहरु पर्दछन्। त्यसैगरी गाउँपालिका स्तरमा जडित ४४० बढी टावरहरुको स्तरोन्नती गरिएको छ। यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावहरुको स्तरोन्नती गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको छ।

ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४,००० भन्दा बढि फोरजी टावरहरु संचालनमा रहेका छन्। फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो। सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ।

सरकारले अंगीकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ। उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्याइरहेको छ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।

एनसेल, आजियाटा ग्रुप बर्हादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .