ad ad

गण्डकी


मेयर बनेको २५ वर्षपछि भोजराजको संसद यात्रा!

मेयर बनेको २५ वर्षपछि भोजराजको संसद यात्रा!

वाशुदेव मिश्र
मंसिर १६, २०७९ शुक्रबार २०:२१, पाेखरा

नेपाली कांग्रेसका नेता भोजराज अर्याल गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका छन्। अर्याल स्याङ्जा निर्वाचन क्षेत्र २ (क) बाट विजयी भएका हुन्। अर्यालले २ हजार ७३० मतान्तरले एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन्।

अर्यालले १५ हजार १६१ मत ल्याउँदा रेग्मीले १२ हजार ४३१ मतमा चित्त बुझाए। एमालेका नेता मोहप्रसाद अर्यालको दोस्रोपटक प्रदेशसभा सदस्य बन्ने महत्वकांक्षामा ‘ब्रेक’ लाग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अर्यालको प्रदेशसभा यात्रा सुनिश्चित बनेको हो। 

२०१३ सालमा जन्मिएका भोजराजले नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेका हुन्। २०२८ सालमा चितवनमा भएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा भाग लिने उनी स्याङ्जाका एकमात्र प्रतिनिधि हुन्। बुटबल हुँदै चितवन पुगेका भोजराजको भनाइ मान्ने हो भने, देउवालाई नेपाल विद्यार्थी संघको सभापति बनाउनुमा उनीलगायतको ठूलो हात थियो।

२०३६ सालको विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने गरेकैले उनी पञ्चायतको तारो बने। उनको टाउकोको मूल्य नै ५० हजार तोकियो। उनी पक्राउ परे। 

तत्कालीन अञ्चालाधीश रामचन्द्र बहादुर सिंहले उनलाई कास्की कारागार चलान गरिदिए। रामचन्द्रले सुटुक्क भनेका थिए रे, ‘तिम्रो टाउको ल्याउनेलाई पुरस्कारको घोषणा गरेका छन्, यस्तोमा प्रहरी हिरासतमा पठाउँदा तिमीलाई मार्न सक्छन्, त्यसैले कारागार पठाएको हुँ।’ 

ती अञ्चलाधीश सरस्वती क्याम्पसका स्ववियू सभापति भइसकेका मान्छे रहेछन्। पछि उनले भोजराजलाई सुटुक्क भेटेर भनेछन्, ‘राजाले मलाई बोलाएर सहयोग मागिबक्स्यो, मैले हुन्छ भनेँ, उहाँले अञ्चलाधीश बनाउनुभयो। तिमी मान्छौ भने इनिस्पेक्टर हुने अवसर छ।’

भोजराजले त्यो प्रस्ताव अस्वीकार गरे। २०३० सालमा कांग्रेसको सदस्यता लिएका र २०३२ सालमा १९ वर्षकै उमेरमा नेपाली कांग्रेस वालिङ गाँउपञ्चायतको सभापति बनेका भोजराजले त्यो प्रस्ताव अस्वीकार गरे। 

२०३६ सालको विद्यार्थी आन्दोलनको कमाण्डर, २०३७ सालको जनमत संग्रहमा तत्कालीन ७ नम्बर इलाकाको संयोजक भएर उनले बहुदलको पक्षमा माहौल बनाएका थिए। २०४६ सालको आन्दोलनमा पनि उनी उत्तिकै सक्रिय रहे।

२०४६ सालको परिवर्तनले राजनीतिक दलहरुलाई अवसर दियो। भोजराज स्याङ्जा कांग्रेसको सचिव थिए। २०४९ सालमा उनी वालिङ गाउँपालिकाको अध्यक्ष बने। २०५४ सालमा उनी पालिकाको मेयर भए। वालिङ नगरपालिकाको पहिलो निर्वाचित नगरप्रमुख भएर वालिङको मार्गचित्र कोरेको जस उनलाई दिइन्छ।

मेयर भएको २५ वर्षपछि पुनः जनप्रतिनिधि बन्न उनले राम्रै ‘पापड’ बेल्नुपर्यो। आफ्नै जिल्लाका नेता गोपालमान श्रेष्ठको राजनीतिक छलाङ भने उनको लागि महँगो सावित भयो। कतिसम्म भने, भोजराजहरुले गोपालमानकै कारण स्याङ्जामा कांग्रेस कमजोर भएको भन्दै केन्द्रीय अनुशासन कमिटीमा उजुरी दिए।

अघिल्लो चुनावमा तत्कालीन जिल्ला सभापति कमल पँगेनीको हारको कारण गोपालमान नै भएको पनि उनको जिकिर थियो। २०७४ सालको चुनावमा गोपालमानले आफ्नो टिकट खोसेको दाबी गर्ने भोजराजले यो पटक टिकट पाए।

कार्यकर्तामाझ लोकप्रिय रहेका भोजराजले आफूलाई प्रमाणित गरे। उनको प्रदेशसभा यात्रा तय भयो। ६ पटक कांग्रेस महासमिति सदस्य बनेका अर्याल ‘त्यागी’ नेतामा गनिन्छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .