ad ad

गण्डकी


गण्डकी विश्वविद्यालयले पहिलोपटक एआई पढाउँदै, विद्यार्थीलाई कामसहित २० हजार प्रोत्साहन भत्ता

गण्डकी विश्वविद्यालयले पहिलोपटक एआई पढाउँदै, विद्यार्थीलाई कामसहित २० हजार प्रोत्साहन भत्ता

वाशुदेव मिश्र
साउन २, २०८१ बुधबार २०:१, पोखरा

गण्डकी विश्वविद्यालयले एआई अर्थात् कृतिम बौद्धिकता विषय पढाउने भएको छ। विश्वविद्यालयले कम्प्यूटर इन्जिनियरिङ विषयको स्नातकोत्तर (मास्टर्स अफ कम्प्यूटर इञ्जिनियरिङ– एमआईटी) अन्तर्गत नै एआई (मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स) अध्यापन गराउन लागेको हो।

कुलपति गणेशमान गुरुङले गण्डकी एआई अध्यापन गराउने नेपालको मात्र नभएर एसियाकै पहिलो विश्वविद्यालय भएको दाबी गरे। उनका अनुसार पठन पाठन चाहिँ चालु अंग्रेजी वर्षको सेप्टेम्बर महिनाबाट हुनेछ। उनले इच्छुक विद्यार्थीहरूलाई सो विषय पढ्न आग्रह पनि गरे।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले बुधबार विश्वविद्यालयले अगाडि सारेको नयाँ कार्यक्रमको घोषणा गरे। उनले प्राविधिक शिक्षाको आवश्यकताबारे चर्चा गर्दै एआई विषयको अध्ययनले दक्ष र बजारले खोजेको जनशक्ति उत्पादन हुने बताए।

मन्त्री थापाले रोजगारीका लागि विदेश जाने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न यस्ता कार्यक्रम सहायक सिद्ध हुने पनि बताए।

विश्वविद्यालयका डीन कपील अधिकारीले एमआईटी एआईको आवश्यक्ता ठानेर नै कार्यक्रम सार्वजनिक गरिएको बताए। उनले एआईको अध्ययन गर्ने विद्यार्थी पछाडी नपर्ने र यसले नेपालको अर्थतन्त्र सुधारमा पनि योगदान गर्ने तर्क गरे।

डीन अधिकारीका अनुसार एआई विषयको कोर्स ४ सेमेष्टर अर्थात् २ वर्षको हुनेछ। प्रत्येक वर्ष बढीमा २० जना विद्यार्थीमात्रै भर्ना लिइने उनले सुनाए। एमआईटी एआईमा भर्ना हुनका लागि विज्ञान, इञ्जिनियरिङ र आईटीसँग सम्बन्धित विषयबाट स्नातक उत्तीर्ण हुनुपर्नेछ। विदेशी विद्यार्थीलाई पनि भर्ना लिइने विश्वविद्यालयको नीति छ।

सरकारी तथा गैरसरकारी क्षेत्रमा एआईको प्रयोगलाई बढाउने उद्देश्य पनि विश्वविद्यालयको रहेको उनको भनाइ थियो।

सूचना प्रविधिको ठूलो बजारमा जति जनशक्ति उत्पादन भए पनि बेरोजगार बस्न नपर्ने पनि उनको जिकिर छ।

रजिस्ट्रार कैलाश तिमिल्सिनाले विद्यार्थीलाई काम पनि दिने अनि उल्टो मासिक २० हजार रुपैयाँ पनि प्रोत्साहन भत्ता दिने गरी कोर्ष तयार पारिएको बताए।

‘विभिन्न प्रोजेक्ट हन्ट गरिरहेका छौँ। डोनर र परियोजना पनि खोज्ने क्रम छ। कोही विद्यार्थी काम गरिरहेको छ भने राति पढ्न आयो भने त्यस्तालाई भने शुल्क लिइन्छ, नत्र निःशुल्क पढाउने हो,’उनले भने, अहिले बीआइटी कार्यक्रम छ पहिलो सेमेस्टरमा त्यही जनशक्तिले पढाउने हो। बाँकी खोज्दै जाने हो।’

विश्वविद्यालयले पोखरा ३२ मा भौतिक संरचना निर्माण गरी आइटी र फार्मेसीको क्षेत्रमा अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए। विश्वविद्यालयले आविष्कार केन्द्रको समेत स्थापना गरेको उनको भनाइ छ। उनका अनुसार गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थीको पढ्दै आएका छन्।

गण्डकी सरकारले गण्डकी विश्वविद्यालयको स्थापना गरेको हो। २०७६ सालबाट विश्वविद्यालय संचालनमा रहेको छ। कुलपति गुरुङले एमआइटी एआई अध्यापन गर्ने क्रममा आइटी पार्क पनि चाहिने बताउँदै प्रदेश सरकारले संचालनमा ल्याउन लागेको आइटी पार्क संचालनको जिम्मेवारी विश्वविद्यालयलाई दिन माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .