ad ad

गण्डकी


मोबाइलको लोकेसन पछ्याउँदा हत्या आरोपी पक्राउ

मोबाइलको लोकेसन पछ्याउँदा हत्या आरोपी पक्राउ

नेपालखबर
साउन ४, २०८१ शुक्रबार २२:२, पोखरा

२०८० सालको भदौ ५ गते पोखराको पृथ्वीचोकमा रहेको एक होटलमा महिला अचेत अवस्थामा भेटिइन्। अचेत अवस्थामा प्रहरीले अस्पताल पुर्‍याएकी ती महिलालाई चरक मेमोरियल अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरे।

साँझ ६ः३० तिर केटासँग युनिक होटलको कोठा नम्बर २०२ मा छिरेकी र एक बोत्तल बियर,जुस र दुईवटा ग्लास मागेकी ती महिला त्यही ठाउँको शिला होटलमा काम गर्ने तनहुँ भिमादकी ३२ वर्षीया सुकु बिक भएको पत्ता लाग्यो।

सुकुले लगाएको सुनको सिक्री आइफोन मोबाइलसमेत भेटिएन। प्रहरी सँगै गएको व्यक्तिबाट सुकुको हत्या भएको निश्कर्षमा पुग्यो। तर, होटलमा सिसी क्यामेरा थिएन। त्यसपछि प्रहरीले सुकुसँगै होटलमा गएको व्यक्तिको हुलिया बुझ्यो।

घटनाको अनुसन्धानको लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा,प्रदेश प्रहरी, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय बैदामको संयुक्त अनुसन्धान टोली गठन गरियो। प्रहरीले नजिकको सिसी टिभी,फोन लोकेसनलगायतको आधारमा अनुसन्धान अगाडि बढायो।

प्रहरीले भदौ ५ गते २ बजेतिर दी नर्थफेस लेखिएको निलो टोपीसहित ज्याकेट लगाएको र राजन गुरुङको परिचयसहित होटल पसेको व्यक्ति नै सुकुको हत्यारा हुनसक्ने निचोड निकाल्यो। तर, सो व्यक्तिलाई समात्न सजिलो थिएन।

प्रहरीले सुकुको साथमा भएको आइफोन १३ प्रोम्याक्स मोबाइलको नम्बर पत्ता लगायो। सो मोबाइल कहाँ प्रयोग भइरहेको छ भन्ने निगरानी गर्न थाल्यो।

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंको टोलीले अन्ततः सो मोवाइल महोत्तरी बर्दीबास घर भएका राजेश बुढाथोकीबाट बरामद गर्यो। राजेशले सो मोबाइल आफूले बागलुङको गलकोट नगरपालिका ९ घर भइ  पोखरा ७,घारीपाटन बस्दै आएका २९ वर्षीय संजय विकसँग ४० हजार ५ सय रुपैयाँमा किनेको बताए।

सुकुको मोबाइल लिने पहिलो व्यक्ति संजय भएको पुष्टि भएसँगै प्रहरी डेरामा पुग्यो। डेरामा संजयले होटल पस्दा लगाएको नर्थफेस कम्पनीको ज्याकेट र पोको कम्पनीको मोबाइल हात लाग्यो।

सो पोको मोबाइलमा स्क्रिनसट गरी सुकुको मोबाइल नम्बर राखिएको तस्वीर, सुकुको आइफोन समातेर खिचिएको फोटो पनि फेला पर्यो। डाक्टरबाट सुकुको घाँटी थिचेर हत्या भएको प्रतिवेदन प्राप्त भइसकेको थियो। संजयले नै सुकुको घाँटी थिचेर हत्या गरेको घामजत्तिकै छर्लङ भएपछि अनुसन्धान टोली संजयको खोजीमा लाग्यो।

२०८० सालको मंसिरमा अदालतबाट पक्राउ गर्ने अनुमति लिएको प्रहरीले संजय डेरामा श्रीमती र छोरालाई छाडेर नवलपरासी पूर्व गैंडाकोट १२, हर्कपुरमा डेरा लिइ बसेको सुइँको पायो। प्रहरी टोलीले संजयलाई २०८१ सालको साउन २ गते गैंडाकोटबाटै पक्राउ गर्‍यो।

कास्की प्रहरीले शुक्रबार सुकुको हत्यामा संलग्न संजयलाई सार्वजजनिकमात्र गरेको छैन, ज्यानमुद्दा समेत चलाएको छ। संजयमाथि २०७२ सालमा पनि कास्की प्रहरीमार्फत् चोरी मुद्दा चलेको र ७३ सालमा वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहारमा मुद्दा चलेको पाइएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .