सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गराउँदै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्।
किताब जात्रा फाउन्डेसनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनप्रति प्रतिबद्धता व्यक्त गरेका हुन्।
'संवेदनशिल समयमा सरकारमा सहभागी छौँ। मुलुकलाई परिवर्तनको बाटोमा अगाडि बढाउने दायित्व सबैको काँधमा छ। यसतर्फ हामी सबैको ध्यान जाओस्। सरकार पनि चुनाव गर्दै सुशासनको अनुभूति गराउन प्रतिबद्ध छ,' उनले भने।
उनले किताब जात्राले पठन संस्कृतिको विकासमा ठूलो योगदान पुर्याएको भन्दै प्रशंसा गरे।
शिक्षाभन्दा ठूलो संसारमा केही नभएकाले कोही पनि यसबाबाट वञ्चित हुन नहुने शिक्षामन्त्री खरेलले बताए।
उनले शिक्षा अँध्यारो हटाउने उज्यालो ज्योति भएकाले जीवनका प्रत्येक पलमा पठन संस्कृतिलाई अँगाल्न आग्रह पनि गरे।
फाउन्डेसनले भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनका लागि सात वर्षदेखि हरेक वर्ष निरन्तर ‘किताब जात्रा’ कार्यक्रम आयोजना गरिरहेको छ।
कार्यक्रममा सामाजिक गहिराइ, परम्परागत मूल्यको विश्लेषण, राजनीतिक सन्दर्भको भूमिका, सुनौलो भविष्यका लागि विभिन्न क्षेत्रका विज्ञहरू दिशाबोधका विषयमा गहन बहस र समीक्षा गरिने किताब जात्रा फेस्टिभलका निर्देशक ऋषिराम अधिकारीले बताए।
‘किताबको अक्षर वा शब्द थाक्दैनन्। तर, मानिस थाक्छ। कथा भने हिँडिरहन्छ। यस्तै कथाको प्रतिनिधित्व हो किताब जात्रा,’ उनले भने।
समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि पनि किताब जात्रालाई निरन्तरता दिइएको उनको भनाइ छ।
उनले पठन संस्कृतिको विकासका लागि नेपाल मात्र नभएर देश बाहिर पनि यस्तैखाले कार्यक्रम गरिरहेको जानकारी दिए।
निर्देशक अधिकारीले देशभित्र र बाहिर गरेर १५ वटा कार्यक्रम गरिसकेको जानकारी दिए।
आयोजकका अनुसार फेस्टिभलमा दुई दर्जनभन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति रहने छन्।
कार्यक्रममा देश-विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायत सहभागी हुनेछन्।
फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमा गम्भीर मन्थन हुनेछ।
महोत्सवमा किताब प्रदर्शनी, मिथिला आर्टको लाइभ पेन्टिङ, फुड स्टल, जदौ हजुरको सांगीतिक प्रस्तुति, सुदूरपश्चिमेली छलिया नाच, तराई-मधेसको झिझिया नाच, पूर्वेली मारुनी नाच पनि देखाइएको छ।
स्वस्ती वाचनबाट सुरु गरिएको किताब जात्राको उद्घाटनका क्रममा लाखे नाचसहितको झाँकी, अभिनेता नाजिर हुसेनको कविता बाचन, एआई साहित्यलगायत प्रदर्शन गरिएको थियो।
साहित्यकार नीलम कार्की निहारिका, लेखक तथा पत्रकार मोहन मैनाली, कवि, लेखक, गीतकार नवराज लम्साल, लेखक सुबिन भट्टराई, पत्रकार टीकाराम यात्री, बैंकर अनिल केशरी शाह, पत्रकार राजेन्द्र बानियाँ, रुपेश श्रेष्ठ, विराट अनुपम, सञ्जय सिलवाल गुप्ता, सम्पदा लिम्बू, विश्व लिम्बू, उत्सव रसाइली, दीपक राज जोशी, राजेश हमाल, वसन्त चौधरी, अमर न्यौपाने, विप्लव प्रतीक, मिलन बुढाथोकी, सन्दीप क्षेत्री, नरेश भट्टराईलगायत विभिन्न सेसनका वक्ता छन्।
यसैगरी किताब जात्रा फेस्टिभलका अवसरमा किताब यात्रा फाउन्डेसनले दुई जनालाई १ लाख ११ हजार १११ ‘प्रेम साहित्य सम्मान’ र ‘बेस्ट सेलर अवार्ड’ प्रदान गर्ने छ।
Shares

प्रतिक्रिया