यही पुस २७ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’को धरानमा हुने एक शोबाट उठेको रकम सुम्निमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माण पक्षले गरेको छ।
चलचित्रका निर्देशक दीपक श्रेष्ठले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर उक्त जानकारी गराएका हुन्। मेयर साम्पाङले आफ्नो समाजिक सञ्जालबाट पनि उक्त कुराको जानकारी दिएका छन्। उनले चलचित्रलाई सफलताको शुभकामनासमेत दिएका छन्।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही पुस २७ गते रिलिज हुँदै गरेको पर्खी बसेँ तिमीलाई नामको चलचित्रले सुम्निमा पारुहाङ प्रतिमा निर्माणमा एक शो बराबरको रकम सहयोग गर्ने भएको छ। निर्माता श्री दीपक श्रेष्ठ (धराने)लाई हार्दिक बधाई तथा शुभकामना! सबैले फिल्म हेरेर नेपाली उत्पादनलाई बढावा दिऔँ।’
निर्देशक दीपक श्रेष्ठले फिल्म मार्फत दर्शकलाई हलमा मनोरञ्जन दिनेसँगै सामाजिक कार्यमा समेत सहभागिता जनाउन लागेको बताए।
‘हाम्रो दायित्व हामीले पूरा गर्दैछौँ। हामीले फिल्ममार्फत् पनि सन्देश दिएका छौँ। यो हामी सेलिब्रिटीको दायित्व पनि हो’ निर्देशक श्रेष्ठले भने।
राजाराम बुढाथोकीको निर्माणमा तयार भएको चलचित्रमा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्।
Shares
प्रतिक्रिया