ad ad

समाज


सिक्किममा भ्लगर उमा चाम्लिङ पक्राउ : आरोप ‘साम्प्रदायिक हिंसा’ भड्काउन खोजियो, कारण राजनीतिक

सिक्किममा भ्लगर उमा चाम्लिङ पक्राउ : आरोप ‘साम्प्रदायिक हिंसा’ भड्काउन खोजियो, कारण राजनीतिक

नेपालखबर
पुस १५, २०८० आइतबार १३:३३, काठमाडौँ

एकजना नेपाली भ्लगर उमा चाम्लिङ राईलाई सिक्किम प्रहरीले पक्राउ गरेको छ। 

नेपालबाट गएर ‘साम्प्रदायिक हिंसा’भड्काउन खोजेको आरोपमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका निवासी भ्लगर उमालाई ३० डिसेम्बर (शनिबार) सिक्किम प्रहरीले गान्तोकबाट पक्राउ गरेको हो। 

साम्प्रदायिक अशान्ति फैल्याउने षड्यन्त्र गरेको आरोप लागेकी उनलाई सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शिला राईले दायर गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

इन्डिया टुडे इनका अनुसार पक्राउ परेकी उमालाई ५ दिनको म्याद थप गरेर कारबाही अघि बढाइएको छ। 

उमाले २६ डिसेम्बर साँझ फेसबुकमा हालेको २ मिनेट ५४ सेकेन्डको भिडिओ पोस्टलाई आधार बनाएर प्रहरीले पक्राउ गरेको हो।

जुन भिडिओमा उनले सिक्किममा रहेका किराती समुदायले साकेला (साकेवा) मनाउने विषयमा बोलेकी छन्। जसलाई त्यहाँ हुन लागेको विधानसभाको चुनावलाई प्रभाव पार्न खोजिएको आरोप लागेको छ।

२४ डिसेम्बरमा त्यहाँका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसँगको फोटोसमेत पोस्ट गरेकी उमाले दुई दिनपछि राखेको भिडिओलाई त्यहा राजनीतिक सन्देशका रुपमा लिइएको छ।

सिक्किममा सन् २०२४ मा विधान सभा चुनाव हुँदैछ। यो चुनाव आगामी सन् २०२४ मे महिनामा गर्ने तयारी छ। 

सिक्किमको सत्तामा फर्किन पूर्व मुख्यमन्त्री एवम् सिक्किम डेमोक्रेटिक फ्रन्टका पवन चाम्लिङ पनि मैदानमा छन्।

उनीसँग वर्तमान मुख्यमन्त्री एवम् सिक्किम क्रान्तिकारी मोर्चाका पीएस गोले भिड्दैछन्। यस्तोमा सिक्किमको सत्ताधारी दलले पवनको पक्षमा उमाले मतदाता प्रभावित गर्न खोजेको आरोप लगाएको छ। नेपाली नागरिक सिक्किम आएर विधान सभाकाा लागि चाम्लिङको पक्षमा मतदाता प्रभावित पार्न खोजेको आरोप उमामाथि छ। 

पवन चाम्लिङसँग उमा

भिडिओ पोष्टमार्फत साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोप भ्लगर राईलाई लागेको छ। त्यहीकारण उनलाई अहिले सदर प्रहरी स्टेशन गान्तोकको हिरासतमा राखिएको छ।

उमाले २६ डिसेम्बरमा हालेको उक्त भिडिओ सन्देशमा किरात राईहरूलाई साकेलामार्फत संगठित गर्न खोजेर पवनको पक्षमा मतदाता तान्न खोजेको त्यहाँको सत्ताधारी दलको आरोप छ। 

‘आफ्नो संस्कार, संस्कृति होइन। आफ्नो पहिचान जोगाउनुका लागि, जोगाउनु पर्छ भनेर अगाडि बढिरहेको छु, नेपालमा। सिक्किममा हेरौँ न त कस्तो छ भनेर, सिक्किममा पनि धेरै किरात हुनुहुन्छ। आफ्नो साकेला संस्कार संस्कृति जोगाइ राख्नु भएको छ भनेको सुनेको हो। अब पर्सि (३० तारिख) हेरौँ है त कत्तिको क्राउड हुँदो रैछ। कत्तिको एक्टिभ हुनु हुँदोरहेछ किराँतहरू, राईहरू आफ्नो संस्कार संस्कृतिलाई कत्तिको माया गर्नुहुँदो रैछ’, उनले भनेकी थिइन्, ‘त्यो पनि त हेर्नुपर्यो नि होइन। त्यही भएकाले गर्दा म पनि ३० तारिख लेकसाइड आउँदै छु। तपाईँहरू पनि आउनुस्। मज्जाले घोप्टी-घोप्टी होइन, साकेला नाच्नुपर्छ गीत गाउँदै। के रे! मकै गोडेर नजाऊ है कान्छा मलाई छोडेर’ भनेर म चाहिँ थर्काउने छु होइन। र, जति पनि किरात राईहरू हुनुहुन्छ। आफ्नो संस्कार-संस्कृति र पहिचानलाई कहिल्यै पनि दबाउन नदिनुस्। म तपाइँहरुलाई रिक्वेस्ट गर्छु।’

उमाले पोस्ट गरेको भिडिओ

उमाले नेपालतिरको साकेला र साकेवा एउटै भएको ब्याख्या भिडिओमा गरेकी छन्। साकेवा मनाएर मात्रै जान भनेकाले आफू सिक्किममा बसिरहेको उनको भनाइ थियो। सिक्किमबासीसँग आफूले पनि रमाइलो गर्ने कुरा उनले भिडिओमा बताएकी थिइन्। सिक्किमको लेकसाइडमा निम्तो दिएकी उनी ३० तारिखमा पक्राउ परिन्।

अब उनलाई अदालतमा पेश गरी आईपीसीको धारा १५३९/१५३ बी/ ५०५ (१)/५०५ (२) अन्तरगत मुद्दा दर्ता गरेर ५ दिनका लागि हिरासतमा राखिएको सिक्किम क्रोनिकलले जानकारी दिएको छ।

राईले उक्त भिडिओ सन्देश दिएकै दिन वनझाँक्री बस्ने गुफा र डिसेम्बर २८ मा चारधाम सिक्किम घुमफिरबारे भिडिओ सामग्री पोष्ट गरेको देखिन्छ।

डिसेम्बर २४ मा सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसँग खिचाएको तस्बीर पोस्ट गरेकी उनले केही रिल र तस्बीरहरु पनि पोष्ट गरेकी छन्। तर, उनको कुनै पनि भिडियो पोष्ट वा फोटो हिंसा भड्काउने खालको देखिन्न।

घुमफिरका क्रममा सिक्किम पुगेकी भ्लगर राई पक्राउ परेपछि किरात राई समुदायले विनाशर्त रिहाइ माग गरेका छन्। केहीले उनलाई षडयन्त्रपूर्वक फसाइएको तर्क गरेका छन्। 

के भन्छ सत्ताधारी दल?
सत्ताधारी दलकै कार्यकर्ताको उजुरीपछि उमा समातिएकी हुन्। यस्तोमा पीएस गोले मुख्यमन्त्रीको दौडमा रहेको सिक्किम क्रान्तिकारी मोर्चाले उमामाथि राजनीतिक आरोप लगाएको छ। 

उक्त दलले फेरि सत्तामा फर्किन खोजिरहेका विपक्षी नेता पवन चाम्लिङले जातीय राजनीतिमा प्रयोग गर्न उमालाई सिक्किम बोलाएको जिकिर गरेको छ।

उमाले किरात राईहरू एक हुनुपर्ने गरी दिएको सन्देशलाई पनि उक्त पार्टीले आपत्तिजनक भनेको छ। उक्त दलले किरातीहरूलाई एक ठाउँमा ल्याएर उमाले पवनको पक्षमा मतदाता प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ।

उक्त दलका प्रचार प्रसार शाखा सचिव शीतल सोताङ राईले शनिबार निकालेको एक वक्तव्यमा उमा अवैध रूपमा सिक्किममा प्रवेश गरेर  राजनीति गरिरहेको दाबी गरेका छन्। 

‘ती महिला (उमा) पवन चाम्लिङकै आडमा सिक्किमको 'इन्टर लाइन पर्मिट'समेत नकाटी सिक्किम भित्रिएको भेटिएको छ। गैरकानुनी रुपमा सिक्किममा बसेकी ती महिलाले साकेवा पर्व मनाउने भन्दै भिडिओमार्फत पटक पटक निम्ता दिनुपर्ने आवश्यकता किन भयो?’

सिक्किमको सत्ताधारी दलले पर्यटक र व्यापारी भएर आउन जान कुनै रोकतोक नरहेको पनि जनाएको छ। 

‘सिक्किममा पर्यटकका रुपमा घुम्न, व्यपार गर्न र काम गर्न आउन जोकोहीलाई रोकिएको छैन।  तर जातीय राजनीतिप्रेरित काम गर्ने नाममा कसैले सिक्किमको अस्तित्व र सांस्कृतिक परम्परामाथि हस्तक्षेप गर्न पाउँदैन। गैरकानुनी रुपमा सिक्किम पसेर कुनै राजनीतिक दललाई सहयोग पुग्ने गरी सिक्किमबासीलाई अलमल्याउनेलाई कानुनअनुसार सजाय हुनुपर्ने कुरा हाम्रो माग हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .