कला


साहित्यकार डा गिरिको कोरोना संक्रमणबाट निधन

साहित्यकार डा गिरिको कोरोना संक्रमणबाट निधन

नेपालखबर
जेठ १०, २०७८ सोमबार १०:५७,

साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना संक्रमणले निधन भएको छ।

काठमाडौं बानेश्वरस्थित निजामती अस्पताल पुर्‍याइएको आधा घण्टामा नै उनको निधन भएको थियो। उनी मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित थिइन्।

त्रिमूर्ति निकेतनका आयोजनामा डा गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै रु पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो।

विसं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो। सो फाउण्डेशनको पूँजी करीब रु सात करोड बराबर रहेको संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए।

गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो। उनी विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आएकी थिइन्। उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध भइन्। नेपाली भाषासाहित्यमा विद्यावारिधि (गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२) गरेकी थिइन्।

डा गिरिका जीवन थाय्मरु, शब्दातीत शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन्। उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन्। नरेन्द्रराज प्रसाइँद्वारा डा वानीरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरि’ (२०७०) प्रकाशन भयो भने सोको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद (२०७८) गरेका छन्।

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा गिरिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन्। डा गिरिका पति, एक छोरा र एक छोरी छन्। फाउण्डेशनले गिरिजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .