कला


जेठी श्रीमतीको जाहेरी दर्तापछि छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

जेठी श्रीमतीको जाहेरी दर्तापछि छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

नेपालखबर
साउन ८, २०७६ बुधबार १०:३०,

निर्माता तथा निर्देशक छविराज ओझा र उनकी कान्छी श्रीमती तथा नायिका शिल्पा पोखरेलविरुद्ध जाहेरी दर्ता भएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरी परिसर काठमाडौंको महिला सेल कालीमाटीमा मंगलबार जाहेरी दर्ता गरेकी थिइन्। सोही जाहेरीअनुसार छवि र शिल्पाविरुद्ध प्रहरीले बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

दुवैविरुद्ध बहुविवाहको जाहेरी दर्ता भएको थियो। हेमाले आफूसँग सम्बन्धविच्छेद नै नगरी विवाह गरेको भन्दै जाहेरी दिएकी थिइन्। छवि र हेमाको २०४१ मा विवाह भएको थियो। प्रहरीले दुवैलाई पक्राउ गरी थुनामा राखेर मुद्दा अघि बढाउनेछ। सोहीअनुसार प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरेको हो। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –११ अनुसार बहुविवाह कसुर ठहर भएमा छबी र शिल्पालाइ एकवर्ष देखि पाँच वर्षसम्म कैद हुन सक्नेछ।

हेमा छविकी पहिलो श्रीमती हुन्। सम्बन्धमा दरार आएपछि सम्बन्धविच्छेद नगरी अंगबन्डा गरेर बसेका थिए।

छविले यसबीचमा गीताञ्जली, रेखा थापा र शिल्पा पोखरेलसँग बिहे गरे। गीताञ्जलीको निधन भइसकेको छ भने रेखा थापासँग उनले सम्बन्धविच्छेद गरेका छन्।

के छ कानुनी व्यवस्था?
१७५. बहुविवाह गर्न नहुनेः (१) विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन।
(२) कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए पनि पति पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ।

(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ। (५) उपदफा (१) बमोजिमको विवाह स्वतः बदर हुनेछ। (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता लागू हुनुअघि तत्काल प्रचलित कानुनबमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन।

१७६. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसुरमा कसुर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्नेछैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .