कला


पूर्वएआईजी टेक तामाङले ल्याए अर्को म्युजिक भिडिओ ‘बिताऔँ जीवन हाँसेर, छमछमी नाचेर’

पूर्वएआईजी टेक तामाङले ल्याए अर्को म्युजिक भिडिओ ‘बिताऔँ जीवन हाँसेर, छमछमी नाचेर’

मगेन्द्र राई
साउन १२, २०८३ मंगलबार १२:५३, काठमाडौँ

वरिष्ठ गीतकार तथा लेखक टेक तामाङद्वारा रचित ‘बिताऔँ जीवन हाँसेर, छमछमी नाचेर’ शीर्षकको अर्को म्युजिक भिडिओ बजारमा आएको छ।

सोमबार सार्वजनिक भिडिओमा विभिन्न पार्टी, विवाह, जमघट आदिमा कम्मर मर्काई मर्काई नाच्न मिल्ने युगल गीत छ। जसमा चर्चित गायकद्वय अञ्जु पन्त र रामकृष्ण ढकालको स्वर छ। 

कन्काईस्ट राईको संगीत रहेको यो म्युजिक भिडिओ सर्जक तामाङसहित भिडि‌ओ निर्माणमा संलग्न सबैको जमघटमाझ आफ्नै अफिसियल युट्युब च्यानल ‘टेक तामाङ’मार्फत सार्वजनिक गरिएको  हो।

टेक तामाङ

गीतको अरेन्ज र मिक्सिङ एन्ड मास्टरिङ देवेश राईले गरेका हुन् भने गीत सेवा रेकर्डिङ स्टुडिओमा रेकर्ड गरिएको हो।

रेकडिस्ट योगिन मुकारुङ हुन्। पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडिओ अभिषेक वाग्ले "अबि’ले निर्देशन गरेका हुन्।

मेकअप पुनम चौधरीको छ भने प्रोडक्सन म्यानेजर हरि अधिकारी हुन्। पहिरन भ्यालेन्टिनो बुटिकको छ।

अभिषेक वाग्ले र रितेश सिन्जाली मगरको संयुक्त कोरियोग्राफी रहेको यस म्युजिक भिडिओमा चल्तीका नायक पल शाह, विना राउत, सुरज तामाङ र रेशु गुरुङको अभिनय छ। 

प्राय:जसो भजन, देशभक्ति र वीर रसले भरिएका गीत सिर्जना गर्ने तामाङले बेलाबखत प्रेम रसले भरिएको रोमान्टिक र स्वस्थ मनोरञ्जन दिने गीत पनि पस्किने गरेका छन। यो त्यसैको निरन्तरता हो।

काठमाडौँ उपत्यका र त्यसआसपासलाई पृष्ठभूमि बनाएर छायांकन गरिएको उक्त रोमान्टिक भिडिओ हेर्दा/सुन्दा दर्शक/स्रोतालाई नाँचु नाँचु बनाउँछ।

विसं. २०४३ बाट गीत लेख्न सुरु गरेका तामाङले हालसम्म ११ सयभन्दा बढी गीत तथा भजन लेखिसकेका छन् भने स्वदेश, जीवनसाथी, आमा र नातासहित सयौँको संख्यामा रेकर्ड गरिसकेका छन्।

म्युजिक भिडिओ भने करिब दुई दर्जन बनाएका छन्। 

नेपाल प्रहरी सेवामा संलग्न भएपछि कार्य व्यस्तताका कारण २०५५ देखि ६५ सालसम्म १० वर्ष लेखनबाट विश्राम लिइएको तर साथीभाइ, विशेषगरी संगीतकार किशोर खतिवडाको प्रेरणा र आफ्नै रुचिका कारण साहित्य सेवा अनि जागरणका निम्ति पुन: निरन्तरता दिइएको उनले नेपालखबरसँग बताए। 

गत साल नेपाल प्रहरीको एआईजी पदबाट अवकाश लिएका  तामाङ हाल लेखन र सामाजिक सेवामा समर्पित छन्। 

भोजपुरमा जन्मेका तामाङ सानैबाट मेधावी छात्र थिए। एसएलसीमा जिल्ला टप गरेका उनी गणित र विज्ञानका विद्यार्थी थिए।

‘गणित र विज्ञानले तथ्यलाई मात्र मान्दछ, भावनालाई तिरस्कार गर्छ, तर तपाईंले  यही भावनाको औजार चलाएर अक्षरहरूको खेती गर्नु भो, यो विरोधाभाष भएन र?’

नेपालखबरको प्रश्नमा उनले भने ‘म सानैबाट हरेक शैक्षिक परीक्षामा प्रथम हुन्थेँ, जसको पुरस्कारस्वरूप साहित्यिक पुस्तकहरू प्राप्त गर्थेँ। ती पुस्तकहरू पढेपछि मलाई साहित्यको गोरेटोमा डोर्‍यायो, त्यही गोरेटो छिचोल्दै अहिले यहाँसम्म आइपुगेँ।’

थोरै शब्दमा पनि आफ्ना भावना व्यक्त गर्न मिल्ने भएकाले आत्मसन्तुष्टिका निम्ति गीत लेखन रोजेको उनको भनाइ छ। गीतमार्फत सामाजिक मुद्दा र आन्दोलनको दस्तावेजीकरण, सांस्कृतिक परम्परा संरक्षण तथा संवर्द्धनका साथै परिवर्तन र चेतना पनि वृद्धि गर्न सकिने उनले बताए।

इमेज अवार्ड र सगरमाथा म्युजिक अवार्डलगायत नौवटाभन्दा बढी अवार्ड जितिसकेका तामाङले माटोको आवाज, नेपाल आमा र भक्ति सागरलगायत पुस्तक पनि लेखेका छन्। 

हेर्नुहोस् म्युजिक भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad